News Desk
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र एकता कायम राख्दै वर्तमान परिस्थिति गहिरोसँग बुझ्न र संयमता अपनाउन नेताहरूसहित सबै सदस्यलाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफूविरुद्ध वा आफ्ना बारेमा उठेका टिप्पणीलाई सधैँ सम्मानपूर्वक ग्रहण गर्ने बताएका छन्। उनका अनुसार, यस्ता टिप्पणीहरूले आफूलाई अझ सुदृढ बनाउने र सही मार्गतर्फ निर्देशित गर्ने काम गर्छन्।
खड्काले लेखे, “देश र पार्टी दुवैमाथि परेको चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दा, निर्णय गर्न केही ढिलाइ हुनु स्वाभाविक हो। हतारमा निर्णय गरेर पछुताउनु पर्ने अवस्थाभन्दा सावधानीपूर्वक समय लिएर सही निर्णय गर्नु उत्तम हुन्छ।”
उनका अनुसार, हाल पार्टीले सामना गरिरहेको प्रतिकूल अवस्थामा संगठनलाई बलियो र एकताबद्ध राख्नु पहिलो आवश्यकता हो। विगतका कमजोरी र गल्ती स्वीकार गर्दै जनतासँग क्षमायाचना गर्न पनि उनले जोड दिए। कावा सभापति खड्काले कांग्रेसले आफ्नो इतिहासमा जस्तै समस्या समाधान गर्ने नेतृत्व फेरि लिन सक्ने विश्वास व्यक्त गर्दै, त्यसका लागि सही र उपयुक्त निर्णयमा पुग्न समय लागेको स्पष्टीकरणसमेत दिएका छन्।