थाक–पाँचगाउँ जोड्ने १०.५ किमी चक्रपथ सडक निर्माण अन्तिम चरणमा
News Desk
Nov-16 , 2025 तारिख 12:55 बेलुका

घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँलाई जोड्ने १०.५ किलोमिटरको चक्रपथ सडक निर्माण अब अन्तिम चरणमा पुगेको छ। २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको यो आयोजना करिब ६ वर्षपछि पूर्णतर्फ उन्मुख भएको हो।

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन, एक सडक’ कार्यक्रमअन्तर्गत मुस्ताङ सदरमुकामबाट सुरु भई ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ हुँदै जोमसोम जोड्ने सडक पूर्वाधार विकास कार्यालयले कार्यान्वयनमा ल्याएको हो। कालीगण्डकी नदीपारिका बस्तीलाई सहज पहुँच दिन जोमसोम–ढुम्बा ५ किलोमिटर कालोपत्र तथा ढुम्बाबाट छैरो–चिमाङ हुँदै मार्फासम्म ५.५ किलोमिटर ग्राभेल सडक निर्माण भइरहेको सूचना अधिकारी इञ्जिनियर घनश्याम रोकामगरले बताए।

निर्माण कम्पनीको निरन्तर ढिलासुस्तीका कारण सडक निर्माणमा धेरै पटक म्याद थपिनुपरेको हो। २०७७ माघमै सकिनुपर्ने काम महामारी, प्रतिकूल मौसम तथा हिमपातलाई कारण देखाउँदै सात पटकसम्म म्याद थपिएको थियो। घरपझोङ वडा १, २, ४ र ५ जोड्ने यो चक्रपथ निर्माणको लागत २४ करोड ४५ लाख ७४ हजार रुपैयाँ रहेको छ।

सडकको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ८८ प्रतिशत पुगेको कार्यालयले जनाएको छ। ६ किलोमिटर नाली निर्माण र ढुम्बातालसम्म ५ किलोमिटर कालोपत्र कार्य पूरा भइसकेको छ। ढुम्बातालदेखि छैरो–चिमाङ भागमा नयाँ ट्र्याक फोरेर पाँच मिटर चौडाइमा ग्राभेल सडक बनाइएको छ। हाल ट्राफिक संकेतका पोल जडान, नाली सफा तथा जोखिमयुक्त स्थानमा सुरक्षा बार जडान गर्ने काम चलिरहेको छ।

चक्रपथ सडक सञ्चालनमा आएपछि ठिनी, ढुम्बा, छैरो, चिमाङलगायत गाउँहरू सडक सञ्जालमा पूर्ण रूपमा जोडिनेछन्। यसले स्थानीय किसानले उत्पादन गरेको स्याउ, फलफूल, तरकारी र अन्नबालीलाई बजारसम्म पठाउन झनै सहज भएको कार्यालयको मूल्यांकन छ।