रुजल श्रेष्ठले हासिल गरे Dr. Ramdas M. Pai Excellence Award ,युएईमा बसेर अध्ययन गर्ने नेपाली युवकको उत्कृष्ट उपलब्धि,परिवार र समाज खुशि
News Desk
Nov-16 , 2025 तारिख 05:26 बेलुका

दुबई/युएई  | दुबईस्थित Manipal Academy of Higher Education (MAHE Dubai Campus) ले प्रदान गर्ने सर्वाधिक प्रतिष्ठित अवार्ड Dr. Ramdas M. Pai Excellence Award यस वर्ष प्रतिभाशाली नेपाली विद्यार्थी रुजल श्रेष्ठले प्राप्त गरेका छन्। शैक्षिक उत्कृष्टता, अनुशासन, नेतृत्व क्षमता र समग्र व्यक्तित्वका आधारमा प्रदान गरिने यो अवार्ड पाउनु रुजलको निरन्तर मेहनत र उच्च लक्ष्यप्रतिको समर्पणको प्रमाण बनेको छ।

Bachelor of Business Administration (BBA) तहमा उत्कृष्ट उपलब्धिबाट सम्मानित भएका रुजललाई १५ नोभेम्बर २०२५ मा आयोजित विशेष समारोहमा म्यानिपाल विद्यालयका प्राध्यापक तथा व्यवस्थापन टोलीले अवार्ड प्रदान गरेको हो। अवार्डमा स्पष्ट उल्लेख छ—
“Presented to Rujal Shrestha for Academic Excellence.”

विदेशमा बसेर अध्ययन र व्यवसायिक अनुुभव दुवैमा सक्रिय

रुजल श्रेष्ठ युएईमा बाबा रमेश श्रेष्ठ र आमा बिमला श्रेष्ठसँगै बस्दै आएका छन्। अध्ययनसँगै उनी बाबुको व्यवसायमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छन्।
उनका बाबु रमेश श्रेष्ठले स्थापित गरेको GCD Group of Companies मध्यपूर्वदेखि लिएर संसारका करिब एक दर्जन देशमा विस्तार भएको सफल व्यवसायिक समूह हो। साथै, उनले एनआरएनए मध्यपूर्व संयोजकका रूपमा पनि महत्वपूर्ण दायित्व सम्हालेका छन्।

छोराको सफलताले भावुक बने रमेश–बिमला दम्पती

छोराले हासिल गरेको असाधारण उपलब्धि बाबु–आमाका लागि गर्व मात्र होइन, भावनात्मक क्षण पनि बन्यो।
बाबु रमेश श्रेष्ठका शब्दमा—
“रुजलले ग्राजुएसनसँगै यस्तो सम्मानजनक अवार्ड हात पार्दा हाम्रो छाती गर्वले फुलेको छ। उसले देखाएको लगन, इमानदारी र अनुशासनले भविष्यमा अझ ठूलो सफलता प्राप्त गर्ने हाम्रो दृढ विश्वास छ।”

आमा बिमला श्रेष्ठले पनि छोराको निरन्तर परिश्रमले परिवारलाई हरेक दिन प्रेरणा दिएको बताएकी छन्।

नेपाली समुदायका लागि प्रेरणादायी क्षण

युएईसहित सम्पूर्ण अन्तर्राष्ट्रिय नेपाली समुदायमा रुजलको उपलब्धिले थप उत्साह भरिएको छ। विदेशमा बसेर पनि अध्ययनमा उत्कृष्टता प्रदर्शन गर्दै, परिवार र व्यवसाय दुवै सम्हाल्ने उनी जस्ता युवाले नेपालीहरूको क्षमता विश्वमञ्चमा उजागर गरिरहेको दूतावास, समुदाय तथा शिक्षासम्बन्धी निकायहरूले उल्लेख गरेका छन्।

उज्यालो भविष्यप्रति सबैको विश्वास

MAHE Dubai Campus को Dr. Ramdas M. Pai Excellence Award पाउनु आफूलाई अझ जिम्मेवार बनाएको रुजल श्रेष्ठ बताउँछन्।
“मेहनत कहिल्यै व्यर्थ हुँदैन भन्ने कुरा मैले बाबाममीबाट सिकेको हुँ,” उनले भने।

रुजल श्रेष्ठको यो उपलब्धि केवल व्यक्तिगत गर्व मात्र होइन, विदेशमा अध्ययनरत नेपाली युवाहरूका लागि प्रेरणा र उत्साहको स्रोत पनि हो।