भारत, पाकिस्तान र बंगलादेशमा भएका एकपछि अर्को बम विस्फोटका घटनापछि नेपालले पनि सुरक्षा सतर्कता कडा
News Desk
Nov-17 , 2025 तारिख 12:47 बेलुका

भारत, पाकिस्तान र बंगलादेशमा भएका एकपछि अर्को बम विस्फोटका घटनापछि नेपालले पनि सुरक्षा सतर्कता कडा पारेको छ। भारतीय अधिकारीले विस्फोटमा संलग्न व्यक्तिहरू नेपालतर्फ प्रवेश गर्न सक्ने भन्दै समन्वय र सहयोगको आग्रह गरेपछि सीमा क्षेत्रका संवेदनशील बिन्दुहरूमा विशेष निगरानी बढाइएको हो। नेपाल प्रहरीको विशेष ब्युरोले भारतीय सुरक्षा निकायसँग नजिकिएर सम्भावित जोखिमको विश्लेषण गर्दै सुरक्षा प्रक्रिया कडाइ गरेको बताइएको छ।

सुरक्षा निकायका अनुसार खुला सीमाको कारण जोखिम बढ्ने सम्भावना भएकाले सीमा नाकाहरूमा आवतजावत कडाइ गरिएको छ। मदरसा र मस्जिदमा आउने–जाने नयाँ अनुहारको गतिविधि नजिकबाट अवलोकन गरिन थालेको छ। विमानस्थलमा अध्यागमन जाँच र यात्रु स्क्रिनिङ प्रक्रियामा पनि थप कडाइ गरिएको छ। विगतमा यस्ता घटनामा संलग्न व्यक्तिहरू नेपाल हुँदै तेस्रो मुलुकतर्फ भागेका उदाहरण भएका कारण यसपटक सुरक्षा संयन्त्र पूर्ण सतर्क बनाइएको प्रहरी अधिकारीहरूको भनाइ छ।

सुरक्षा विश्लेषकहरूका अनुसार देश अहिले संवेदनशील अवस्थाबाट गुज्रिरहेको बेला गलत गतिविधिमा संलग्न समूहहरू खुला सीमाको फाइदा उठाएर नेपाल प्रवेश गर्न सक्ने जोखिम कायम छ। उग्रवादी आवतजावत, प्रोक्सी गतिविधि र चरमपन्थी प्रभाव रोक्न सुरक्षा संयन्त्रको चनाखोपन अत्यावश्यक रहेको उनीहरूको भनाइ छ।

दिल्ली विस्फोटपछि भारतमा अपरेसन तीव्र बनेका बेला बाँकी सहयोगीहरू सीमा पार गरी नेपालतर्फ भाग्न सक्ने अनुमान प्रहरीले गरेको छ। यसै क्रममा सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले पनि भारतीय संस्थाहरूसँग समन्वय गर्दै सीमा निगरानी सुदृढ पारेको छ।

खुला सीमाका कारण पहिले पनि भारतका गम्भीर अपराधमा संलग्न व्यक्तिहरू नेपालमा आश्रय लिएका उदाहरण धेरै छन्। विशेष ब्युरोका अधिकारीहरूका अनुसार सन् २००० पछि विभिन्न आतंकी घटनामा संलग्न चार व्यक्तिले सुनसरीबाट नै नेपाली नागरिकता लिएका थिए। उनीहरू २०७१ सालमा राहदानी बनाएर यूएई भागेको खुलेको थियो। साथै, २००६ को मुम्बई विस्फोटमा आरोपित अब्दुल कुरेसीलाई समेत नेपाल प्रहरीले कपिलवस्तुबाट पक्राउ गरी भारतलाई बुझाएको इतिहास रहेको छ।