News Desk
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आज निर्वाचन आयोगबाट आधिकारिक रूपमा दल दर्ता प्रमाणपत्र प्राप्त गरेको छ। आयोगको बहादुर भवनस्थित कार्यालयमा आयोजित कार्यक्रममार्फत आयोगका सचिव महादेव पन्थले नेता चन्दलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन। यससँगै उक्त दलले आगामी निर्वाचनका लागि गुलाब चिन्ह पाएको छ।
गत कात्तिक ११ गते ‘कम्युनिष्ट पार्टी नेपाल’ नाममा नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका प्रतिनिधिहरूले आयोगमा दल दर्ताको निवेदन बुझाएका थिए। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत दलहरूले एकता गरेपछि नेकपा (माओवादी) नाममा मान्यता प्रदान गरिएको हो।
विसं २०७७ फागुन २० गते सरकारसँग भएको लिखित सहमतिपछि विप्लव समूह अर्ध–भूमिगत अवस्था त्यागेर औपचारिक राजनीतिमा प्रवेश गरेको थियो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नयाँ दल दर्ताका लागि निवेदन दिने क्रम लगातार चलिरहेको छ। आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता तथा निवेदन दर्ता गर्न मङ्सिर १० गतेसम्म समय खुला गरिएको छ।