अमेरिकी उच्च सैन्य टोली काठमाडौंमा, नेपाली–अमेरिकी ल्यान्डफोर्स टक हुने
News Desk
Nov-19 , 2025 तारिख 12:43 बेलुका

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच हुने ‘ल्यान्डफोर्स टक’ आज​देखि राजधानीमा औपचारिक रूपमा सुरू हुँदैछ। वार्षिक रुपमा आयोजना हुँदै आएको उक्त संवादको छैटौँ संस्करणमा सहभागी हुन अमेरिकी सेनाको उच्चस्तरीय प्रतिनिधिमण्डल मंगलबार साँझ काठमाडौं आइपुगेको छ।

अमेरिकी सेनाका ल्याफ्टिनेन्ट जनरल स्कट एलेक्जान्डर विटरको नेतृत्वमा तीन सदस्यीय टोली काठमाडौं अवतरण गरेको हो। टोलीका अन्य सदस्यहरूमा सारा जेनेट अल्बर्सन र एडवर्ड जेन्स डोना रहेका छन। उनीहरू कोरियन एयरमार्फत साँझ काठमाडौं आइपुगेको उच्च सैन्य स्रोतले पुष्टि गरेको छ। तीन दिनसम्म चल्ने यो टकमा विभिन्न महत्त्वपूर्ण विषयमा गहन छलफल हुने बताइएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार ल्यान्डफोर्स टकमा मानवीय सहकार्य, प्राकृतिक विपद व्यवस्थापन, र सैन्य क्षमता अभिवृद्धि जस्ता मुद्दाहरू प्रमुख चर्चाका विषय रहनेछन। उनले यस संवादले दुवै देशबीचको सहकार्य र विश्वास अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरे।

छलफलमा परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकारीहरू समेत सहभागी हुनेछन। सन २०१८ मा सुरू गरिएको यो वार्षिक संवाद नेपाल र अमेरिकामा आलोपालो सञ्चालन हुँदै आएको छ। यसमार्फत सैन्य सहायता, प्राविधिक सहयोग तथा नेपाली सेनाको सबलीकरणका विभिन्न पक्षमा सहकार्यका मार्ग खोज्ने परम्परा स्थापित भएको छ।

नेपाली सेनाले यसअघि पनि भारतीय सेनासँग ‘सूर्यकिरण’ र चिनियाँ जनमुक्ति सेनासँग ‘सगरमाथा फ्रेन्डसीप’ नामक संयुक्त अभ्यासहरू नियमित रूपमा गर्दै आएको छ, जसले अन्तर्राष्ट्रिय सैन्य सहकार्यलाई अझ व्यापक बनाएको मानिन्छ।