अन्तर्राष्ट्रिय बाल दिवस–२०२५ को अवसरमा घटना व्यवस्थापन तथा बाल संरक्षण विषयक अन्तरक्रिया सम्पन्न
News Desk
Nov-19 , 2025 तारिख 07:26 बेलुका

अन्तर्राष्ट्रिय बाल दिवस–२०२५ को अवसरमा “मेरो दिन, मेरो अधिकार” अन्तर्राष्ट्रिय नारा र “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” राष्ट्रिय नाराका साथ २०८२ मंसिर ३ गते (१९ नोभेम्बर २०२५) नयाँ बानेश्वरमा बाल कल्याण अधिकारी र बालबालिकाबीच “घटना व्यवस्थापन र बाल संरक्षण प्रणाली कार्यान्वयन” विषयक विशेष छलफल कार्यक्रम सम्पन्न भयो। राष्ट्रिय बाल अधिकार परिषद र राष्ट्रियस्तरका गैर–सरकारी संस्थाहरूको संयुक्त आयोजनामा भएको कार्यक्रममा बाल हिंसा तथा दुव्र्यवहार रोकथाम, घटना व्यवस्थापन र नीतिगत सहकार्यबारे व्यापक छलफल गरिएको थियो।

छलफलका क्रममा बालबालिकाले विद्यालयमा हुने कुटपिट, घर–विद्यालय आवतजावतमा हुने नियमित बुलिङ, सार्वजनिक सवारी साधनमा देखिने यौन दुर्व्यवहार, पारिश्रमिक सम्बन्धी समस्या, तेस्रोलिंगीबालबालिकाका लागि छुट्टै शौचालयको अभाव, जन्मदर्ता तथा नागरिकतासम्बन्धी जटिलता लगायतका मुद्दा प्रस्तुत गरे। उजुरी तथा घटना व्यवस्थापन प्रक्रियामा समयमै जानकारी दिनुपर्नेमा जोड दिँदै बाल कल्याण अधिकारीहरूले बाल–हितका विषयमा आफूहरू सधैं सक्रिय रहेको र आवश्यक नीति, नियम तथा बजेट कार्यान्वयनमा निरन्तर पहल भइरहेको प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा काठमाडौँ महानगरकी बिनीता शर्मा, ललितपुर महानगरकी सरिता महर्जन, टोखा नगरपालिकाकी निर्मला रेग्मी, कागेश्वरी मनोहरा नगरपालिकाकी सविना श्रेष्ठ, सूर्यविनायक नगरपालिकाकी बिजया सुवेदी, चन्द्रागिरी नगरपालिकाकी सहायक महिला विकास अधिकृत विष्णुकुमारी बास्कोटा,  तथा बालबालिका खोतलास समन्वय केन्द्र (१०४) का सन्तोष चन्द सहभागी थिए।

गैर–सरकारी संस्था संजालका प्रतिनिधि, बाल अधिकारकर्मी, विभिन्न संस्थाका पदाधिकारी तथा उल्लेख्य संख्यामा बालबालिकाको सहभागिता रहेको कार्यक्रममा गैर–सरकारी संस्था वोचकी कमला सुनारले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थीन। सिविसकी मनिता धरेल, आशा नेपालकी सोनु थापा र शक्ति समूहकी बाला भट्टराईले (केस) प्रस्तुतीकरण गर्दै न्यायिक प्रक्रियामा पीडित–अनुकूल व्यवहारको कमी, अभिभावककै कारण सिर्जना हुने जन्मदर्ता–नागरिकता समस्याजस्ता विषय उठाएका थिए। यिनै समस्याहरूको दिगो समाधानका लागि सरकारी निर्णय–स्तरबाट के कस्ता उपाय हुनसक्छन भन्ने विषयमा समेत सरोकारवाला निकायहरूसँग गहन छलफल गरिएको थियो।

कार्यक्रमको औपचारिक सत्र धिरेन्द्र बी.सी. (सिविस बाल सल्लाहकार समिति) ले संचालन गरेका थिए भने अध्यक्षता जितिशा विष्टले ग​रेकी थिस ईन। कार्यक्रमकी विशेष अतिथि तथा राष्ट्रिय बाल अधिकार परिषद्‌की सदस्य–सचिव इन्द्रादेवी ढकालले आफ्नो कार्यकालमा हालसम्म ३५ वटा नागरिकता–सम्बन्धी समस्या समाधान गरिएको जानकारी दिँदै कानुनी तथा व्यवहारिक पक्ष समेटेर बालबालिकाका समस्याहरू समाधान गर्न निरन्तर जोडदिनुपर्ने बताइन।