News Desk
नोभेम्बर १९ अर्थात् बाल दुब्र्यवहार बिरुद्ध बिश्व दिवस र नोभेम्बर २० अर्थात् मेरो दिन, मेरो अधिकार अन्तर्राष्ट्रिय नारा र बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी राष्ट्रिय नारा रहेको अन्तर्राष्ट्रिय बाल अधिकार दिवस २०२५ को अवसरमा बालबालिकाको क्षेत्रमा कार्य गर्ने राष्ट्रियस्तरका गैर सरकारी संस्थाहरुले संयुक्त विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
बालबालिकाबाट हिंसा बिरुद्धको आर्ट तथा प्रदर्शनी प्रदर्शनी गरिएको छ । त्यसैगरि घटना ब्यवस्थापनको सम्बन्धमा बाल कल्याण अधिकारी र बालबालिकाबीच बाल नेतृत्वमा छलफल संचालन गरिएको थियो सिविसको बाल सल्लाहकार समितिका सचिव धिरेन्द्र बि.सीको सहजीकरण, बाल विकास समाजको बालिका श्री जेनिशा विष्टको अध्यक्षता तथा राष्ट्रिय बाल अधिकार परिषद्को सदस्य सचिव श्री ईन्द्रादेवी ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन गरिएको थियो । भ्वाइस अफ चिल्ड्रेनकी कार्यक्रम अधिकृत कमला सुनारले कार्यक्रम संचालनको उद्देश्य जानकारी गराउनु भएको छलफलमा काठमाण्डौ महानगरपालिकाकी बाल कल्याण अधिकारी बिनीता शर्मा, ललितपुर महानगरपालिकाकी बाल कल्याण अधिकारी सरिता महर्जन, टोखा नगरपालिकाकी बाल कल्याण अधिकारी निर्मला रेग्मी, कागेश्वरी मनोहरा नगरपालिकाकी बाल कल्याण अधिकारी सविना श्रेष्ठ, सुर्यविनायक नगरपालिकाकी बाल कल्याण अधिकारी बिजया सुवेदी, बाल बालिका खोतलास समन्वय केन्द्र भृकुटी माण्डप (१०४) का सन्तोष चन्द, चन्द्रागिरी नगरपालिकाकी सहायक महिला विकास अधिकृत बिष्णुकुमारी बास्कोटा र बागमती प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडाले बालबालिकाले राखेको विभिन्न सवालहरुको उत्तर दिनुभएको थियो । उहाँहरुले बालबालिकाको घटना तथा उजुरीमा संवेदनशील रहेको र अझै प्रभावकारी रुपमा कार्य गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
त्यसैगरि, मोरक्कोमा हुने बाल श्रम उन्मुलन सम्बन्धी छैटौँ अन्तराष्ट्रिय सम्मेलनको लागि सवाल पहिचान गर्न बालबालिकासँग छलफल कार्यक्रम आयोजना गरिएको थियो । विश्वास नेपालीको बालिका कुशम न्यौपानेको अध्यक्षतामा भएको छलफलको सहजीकरण सिविसका परियोजना संयोजक उमङ्ग मैनालीले गर्नुभएको थियो । कार्यक्रममा गैससहरुको तर्फबाट ग्वोबल वर्किङ कमिटीको सदस्य रहनु भएको अधिकारकर्मी मिलन धरेलले बाल श्रम उन्मुलन सम्बन्धी छैटौँ अन्तराष्ट्रिय सम्मेलनको लागि सवाल पहिचान गर्न प्रस्तुतीकरण गर्नुभएको थियो । बालबालिकाले विभिन्न समूहमा रहेर बाल श्रमको सवालमा छलफल गरी साझा सवालहरु तयार गरेका छन् । उक्त सवालहरु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत मोरक्कोमा हुने छैटौँ अन्तराष्ट्रिय सम्मेलनमा पठाइनेछ ।
कार्यक्रमको आयोजना बाल अधिकारको क्षेत्रमा राष्ट्रिय स्तरमा कार्य गर्ने संस्थाहरु सिविस, भ्वाइस अफ चिल्ड्रेन, सामाजिक सुरक्षा नागरिक समाज संजाल, एनसीपीए, एटवीन, फर द वन, नेपाल गुड वेव फाउन्डेशन, इष्टर बेन्जमिन मेमरियल फाउन्डेशन, युवालय, विश्वास नेपाल, बाल विकास समाज, हामी दाजुभाइ, कन्सोर्टियम, स्वतन्त्रता अभियान, शक्ति समुह, रक्षा नेपाल, साथसाथ, आशा नेपाल, कुमुदिनी, बाल कल्याण समाज, सबैका लागि सहयोगी नेपाल, नयाँ पाइला लगायतले संयुक्त रुपमा आयोजना गरेको थियो ।
