२३ विभिन्न जेन्जी समूहहरूका प्रतिनिधिहरूबाट​ संयुक्त रूपमा राष्ट्रपति भेट​, प्र​धान​म​न्त्री ह​टाउन​ माग​
News Desk
Nov-21 , 2025 तारिख 12:08 बेलुका

जेनजी आन्दोलनमा संलग्न युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउन माग गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ज्ञापनपत्र बुझाएका छन्। बिहीबार २३ विभिन्न जेनजी समूहहरूका प्रतिनिधिहरू संयुक्त रूपमा राष्ट्रपतिलाई भेट गर्न पुगेका थिए।

समूहहरूले बुझाएको ज्ञापनपत्रमा वर्तमान सरकार विद्रोहीहरूले गरेको बलिदान र संघर्षका आधारमा बनेको भए पनि उनीहरूको न्यूनतम अपेक्षा समेत पूरा गर्न असफल भएको आरोप लगाइएको छ। ज्ञापनपत्रमा भनिएको छ, “सरकारले जनताको समस्याभन्दा चुनाव केन्द्रित मात्र भूमिका निभाएको छ, जसले सरकार दिशाहीन रूपमा अघि बढिरहेको देखिन्छ।”

जेनजी एलायन्स, घाइते तथा शहीद परिवारहरूको संयुक्त भनाइअनुसार सरकारले तत्काल विद्रोही पक्षका माग सम्बोधन गर्नुपर्नेछ। उनीहरूले चेतावनी दिँदै भनेका छन्, “यदि सरकारले आफ्ना प्रतिवद्धता पूरा गर्न सकेन भने हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि सम्माननीय राष्ट्रपतिले मध्यस्थता गर्नुपर्ने अवस्था आउनेछ।”

जेनजी पक्षले सरकारसँग धेरै महत्वपूर्ण विषयमा अपेक्षा राखेको भए पनि ती पूरा नभएको उल्लेख गरिएको छ। ती मागहरूमा ठूला भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि कडा कारबाही, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्था कायम गर्न संविधान संशोधन, जेनजी विद्रोहका क्रममा भएको नरसंहारमा संलग्नमाथि कार्यवाही, घाइतेको उपचार सुनिश्चितता र शहीद परिवारका लागि उपयुक्त क्षतिपूर्ति तथा भरणपोषण समावेश छन्।

उनीहरूको भनाइमा, यी सबै मुद्दामा सरकार ढिलासुस्ती र उदासीन देखिएकाले अब निर्णायक कदम आवश्यक भएको छ।