News Desk
नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकाले लामो समयदेखि अवरुद्ध सडक विस्तारको काम स्थानीय सुरक्षाकर्मीको सहायतामा अघि बढाएको छ। सडक मापदण्ड भित्र पर्ने घर–टहरा खाली गर्न नसकिने भन्दै केही स्थानीयले तीन वर्षदेखि रोक्दै आएको कार्य बिहीबार बल प्रयोग गरेर अघि सारिएको हो। गाउँपालिका अध्यक्ष दीपक गुप्ता स्वयं सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसँगै स्थलमै पुगेका थिए।
गाउँपालिकाले संघीय सरकारको ४ करोड ६८ लाख र स्थानीय तहको ३ करोड गरी ७ करोड ६८ लाख बजेटमा उजैनीदेखि चमनटोला जोड्ने सात किलोमिटर पक्की सडक निर्माण गरिरहेको छ। वडा नम्बर ४ का झण्डै एक सयभन्दा धेरै घरधुरीका संरचना सडक मापदण्डमा परे पनि सबैले स्वेच्छाले हटाउन मानेका थिएनन्। तीमध्ये तीन–चार जनाको निरन्तर असहयोगपछि बाध्य भएर संरचना हटाइएको अध्यक्ष गुप्ताले बताए।
सडक विस्तारअनुसार गाउँभित्र नालीसहित ५० फुट चौडाइ कायम गरिँदै छ भने गाउँ क्षेत्र बाहिर नालीबाहेकको सडक बनाउन थालिएको छ। तर केही स्थानीयले मापदण्ड लागू गर्दा बराबरी नभएको दाबी गर्दै विरोध जनाएका छन्। केही स्थानमा ४७–४८ फुट र कतै ५० फुट इकाई प्रयोग गरिएको भन्दै उनीहरूले समान व्यवहार गर्न माग गरेका छन्। स्थानीय बन्दना कुर्मीका अनुसार नियम सबैका लागि एकै किसिमले लागू हुनुपर्छ।
यता अध्यक्ष गुप्ताले मुख्य सडकको दायाँ–बायाँ २५–२५ फुट छुट्याएर विस्तार भइरहेको बताउँदै कसैलाई पक्षपात गरिएको दाबी असत्य भएको प्रतिक्रिया दिए। “यदि मापदण्डभन्दा बढी भत्काइएको भेटिए छानबिन गरेर क्षतिपूर्ति दिन तयार छौं,” उनले भने।
गाउँपालिकाका अनुसार संरचना हटाउने कार्य अन्तिम चरणमा पुगेको र केही दिनभित्र सडक कालोपत्रे प्रक्रिया सुरु हुनेछ।