जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारले राखेका मागलाई पुरा ग​र्ने प्र​धान​म​न्त्री कार्कीको प्र​तिब​द्ध​ता
News Desk
Nov-22 , 2025 तारिख 01:09 बेलुका

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारले राखेका मागलाई सरकारबाट कुनै हालतमा उपेक्षा नगरिने स्पष्ट गरेकी छिन्।

सिंहदरबारमा बिहीबार जेनजी आन्दोलनकारी, सहिद परिवारका प्रतिनिधि र घाइतेसमेत तीन समूहसँग भएको संवादमा उनले जेनजी पक्षसँग भइरहेको समझदारी प्रक्रिया अन्तिम चरणमा पुगेको बताइन्।

“तपाईंहरूको मागबारे राष्ट्रपतिसँग छलफल गरेर टुंगोमा पुगिन्छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “सरकार जेनजी आन्दोलनका घाइते र सहिद परिवारको मागभन्दा बाहिर जाने छैन। माग पूरा हुन्छ भन्नेमा आश्वस्त रहनुहोस्।”

छलफलका क्रममा सहभागी तीनवटै समूहले आन्दोलनकारी र सरकारबीच तत्काल औपचारिक सम्झौता गर्नुपर्ने, दमनमा संलग्नहरूको कारबाही ढिलो नगरिनुपर्ने तथा प्रतिक्रान्तिकारी तत्व सक्रिय भएका कारण उनीहरूलाई नियन्त्रणमा ल्याउन विशेष पहल आवश्यक भएको निस्कर्ष राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले केही माग संवैधानिक तथा कानुनी दायरामा परेकाले त्यसको प्रक्रिया बुझेर अघि बढ्न आग्रह गर्दै आन्दोलनकारी समूहलाई चुनावमा सहभागी भई जनमतमार्फत शान्तिपूर्ण परिवर्तनको नेतृत्व लिन प्रोत्साहित पनि गरेको उनको सचिवालयले उल्लेख गरेको छ।