कान्तिलोकपथमा ट्रक दुर्घटनाग्रस्त भएपछि यातायात पूर्ण रूपमा बन्द
News Desk
Nov-22 , 2025 तारिख 01:20 बेलुका

मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित कान्तिलोकपथमा आज बिहान एक ट्रक दुर्घटनाग्रस्त भएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ।

बिहान करिब ५ बजे वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको ना.३ ख ३१९२ नम्बरको औषधि बोकेको ट्रक अचानक ब्रेक फेल हुँदा सडकमै उल्टिएको इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ।

दुर्घटनामा ट्रक चालक, बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१ निवासी ४० वर्षीय बिनोद माझी सुरक्षित रहेको प्रहरीले पुष्टि गरेको छ। उनी अहिले प्रहरी सम्पर्कमै छन्।

ट्रक सडकको बीचभागमै पल्टिएको हुँदा दुवै तर्फको सवारी आवागमन रोकिएको छ। घटनास्थलमा इप्रका ठिंगनका प्रहरी सहायक निरीक्षक रमाकान्त प्रसाद यादवको कमाण्डमा ट्राफिकसहितको प्रहरी टोली परिचालन गरिएको छ। ट्रक हटाउने र सडक खुलाउने काम जारी रहेको प्रहरीले जनाएको छ।

इप्रका ठिंगनबाट करिब ८ किलोमिटर उत्तरमा पर्ने उक्त स्थानमा सडक अझै अवरुद्ध रहेकोले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।