News Desk
नेपालमा मतदाताको संख्या बढ्दै जाँदा अहिले कुल मतदाता एक करोड ९० लाख ५ हजार ३२४ पुगेको निर्वाचन आयोगले जनाएको छ। पछिल्लो नामावली संकलनअघि मतदाता संख्या एक करोड ८१ लाख ६८ हजार रहँदा, चुनाव घोषणा भएपछि मात्र आठ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका हुन्।
सामान्यतः चुनाव घोषणा भएपछि मतदाता नामावली दर्ता रोक्ने कानुनी प्रावधान रहे पनि यसपटक सरकारले अध्यादेशमार्फत व्यवस्था परिवर्तन गरेर दर्ता प्रक्रिया निरन्तर राखेको थियो। राष्ट्रिय परिचयपत्र प्रयोग गरेर निवेदन दिने व्यक्तिलाई बायोमेट्रिकका लागि कार्यालय धाउन नपर्ने सुविधा भएपछि दर्ता संख्या ठूलो मात्रामा बढेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
अध्यादेशले खुलाएको अवधिमा कार्यालयमा उपस्थित भएर दर्ता हुने तीन लाख ४४ हजार ९१४ जना र नागरिकता तथा राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन आवेदन दिने चार लाख ९२ हजार १८० जना गरी झण्डै आठ लाख ३७ हजार नयाँ मतदाता थपिएका छन्।
आयोगले अब दर्ता भएका मध्ये मृत्यु, दोहोरो दर्ता वा उजुरी परेका नामको छानबिन गरेर पुस १५ गतेसम्म अन्तिम मतदाता संख्या प्रकाशित गर्ने तयारी गरेको छ।
यसपटकको चुनावमा फागुन २१ गते मतदान गर्ने व्यक्तिमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिक मात्रै पात्र हुनेछन्। तर नामावली संकलन भने १६ वर्ष पुगेका सबैका लागि खुला राखिएको आयोगले स्पष्ट पारेको छ।