नवलपुरमा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक - वक्तृत्वकला ’ कार्यक्रम हुने
News Desk
Nov-23 , 2025 तारिख 09:33 बेलुका

निराज रानाभाट । ‘ युवा बोले राष्ट्र बोल्छ ’ भन्ने दृष्टिकोण साथै ‘ स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान ’ भन्ने उद्देश्यले नवलपुरमा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक - वक्तृत्वकला ’ कार्यक्रम हुने भएको छ । नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण बन्दै गएको छ । तर्क, तथ्य र प्रभावकारी सार्वजनिक प्रस्तुतीकरण अब केवल नेतृत्व होइन, प्रत्येक जिम्मेवार नागरिकको अनिवार्य क्षमता बनिसकेको छ । यसै आवश्यकता र समयसापेक्ष मागलाई मध्यनजर गर्दै सरल नेपालको आयोजना तथा लायन्स क्लब ३२५ आर क्लस्टर ३ को प्रस्तुतिमा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक - वक्तृत्वकला ’ कार्यक्रम घोषणा गरिएको छ, जसले देशका सम्पूर्ण युवाहरूलाई एकीकृत डिजिटल मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । उक्त कार्यक्रमलाई जन अपडेटले मिडिया पार्टनरको रूपमा साथ दिएको छ, जवकि स्वस्तिक प्रोडक्सन डिजिटल पार्टनरका रूपमा सम्पूर्ण प्रविधिक व्यवस्थापन तथा प्रसारण सम्हाल्ने छ । साथै, लियो क्लब अफ चितवन ग्रिनको सहकार्यले कार्यक्रमलाई युवा - ऊर्जायुक्त र प्रभावकारी बनाएको छ । 

कार्यक्रम संयोजक समिर लामिछानेका अनुसार यो कार्यक्रम एकै चरणमा सम्पन्न हुने छ र पूर्ण रूपमा अनलाइन मोडमै सञ्चालन हुने छ । यो कार्यक्रम विशेष रूपमा युवाहरूलाई लक्षित गरेर आयोजना गर्न लागिएको हो । सहभागीहरूले एकै पटक आफ्नो प्रस्तुतीकरण अनलाइन मार्फत गर्ने छन् । यहीँ एक प्रस्तुतीकरणका आधारमा परिणाम तय गरिने छ । उक्त कार्यक्रममा विषयको स्पष्टता, भाषिक कौशल, प्रस्तुतीकरण शैली, तर्कशक्ति, समय व्यवस्थापन र डिजिटल स्टेज म्यानरको आधारमा निर्णायकद्वारा मूल्यांकन हुने छ । उक्त कार्यक्रममा देशका जुनसुकै स्थानबाट सहभागिता हुने छन्, भने समय र लागत दुवैको बचत, समान अवसर, डिजिटल प्रविधिको उपयोग, सहज प्रतिष्पर्धा वातावरणजस्ता फाइदाहरू प्रदान गर्ने छ । ‘ अनलाइन सार्वजनिक - वक्तृत्वकला ’ मा सहभागी इच्छुक युवाहरूले अनलाइन फारम, सामाजिक सञ्जाल लिंक तथा माध्यममार्फत साथै फोन ( ९७४५२९०२८३ ) मार्फत दर्ता गर्न सक्नेछन् । उक्त कार्यक्रममा सहभागिताको लागि १५ देखि ४० वर्षसम्मका नेपाली युवा हुनुपर्ने, सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको हुनु पर्नेछ ।

‘युवा पुस्तामा विशाल सम्भावना छ, तर अभिव्यक्ति कमजोर हुँदा उनीहरूको क्षमता दबिन्छ । यो कार्यक्रमले उनीहरूको आवाज, प्रभाव र आत्मविश्वासको ढोका खोल्ने छ’, कार्यक्रम संयोजक समिर लामिछानेले भने । ‘ अनलाइन सार्वजनिक - वक्तृत्वकला ’ कार्यक्रमको शीर्षक र थप व्यवस्थापकीय विवरण केही दिनमै आयोजकले सार्वजनिक गर्ने तय गरेको छ । उक्त कार्यक्रमले देशभरिका युवाहरूलाई एउटै डिजिटल मञ्चमा ल्याउँदै एक चरणमै आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने छ । देशभरका युवाहरूलाई यस अभियानमा जोडिन आयोजकहरूले आग्रह गरेका छन् ।

उक्त कार्यक्रमको उद्देश्यहरू ; 
स्पष्ट र प्रभावकारी वक्ता उत्पादन 
युवाहरूलाई आत्मविश्वासका साथ विषयवस्तु प्रस्तुत गर्ने क्षमता विकास ।

नेतृत्व विकास
सार्वजनिक संवाद, तर्कशक्ति र निर्णय क्षमतालाई नेतृत्व विकासको आधार बनाउने ।

तर्कशक्ति र विश्लेषण क्षमतामा वृद्धि
स्पष्ट सोच, तथ्य विश्लेषण र विषयवस्तुको संगठित संरचना निर्माणमा दक्षता वृद्धि ।

अभिव्यक्ति सहजता र डिजिटल स्टेज म्यानर
अनलाइन माध्यममा कसरी प्रस्तुत हुने, क्यामेरा म्यानर, आवाज, भाव - भंगिमा आदिमा सुधार ।

कार्यक्रम आयोजना गर्ने संस्थाहरूको परिचय ; 
१. सरल नेपाल 
सामाजिक विकास, युवा सशक्तीकरण र शैक्षिक सुधारमा सक्रिय सरल नेपालले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ दर्जनौँ कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।

२. लायन्स क्लब ३२५ आर क्लस्टर ३ 
मानवीय सेवा, नेतृत्व विकास, युवा सशक्तीकरण तथा सामुदायिक उत्थानमा सक्रिय यो क्लबले राष्ट्रिय स्तरका परियोजना सञ्चालनमा विशेष पहिचान कायम गरेको छ ।

३. मिडिया पार्टनर - जन अपडेट
जन अपडेटले कार्यक्रमको समाचार, प्रचारप्रसार तथा सम्पर्क विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।

४. डिजिटल पार्टनर - स्वस्तिक प्रोडक्सन
स्वस्तिक प्रोडक्सनले अनलाइन प्रसारण, प्रविधिक संरचना र डिजिटल व्यवस्थापनबीच सन्तुलन कायम गर्दै कार्यक्रमलाई पूर्ण रूपमा डिजिटल मानकअनुरूप बनाउने छ ।

५. सहकार्य - लियो क्लब अफ चितवन ग्रिन
युवा नेतृत्व र सामाजिक सेवामा समर्पित यो क्लब कार्यक्रम क्रियाशील र प्रभावकारी बनाउन प्रतिवद्ध रहेको छ ।