News Desk
छुट्टाछुट्टै स्थानमा आइतबार भएका तीन अलग–अलग दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। काठमाडौँ महानगर–३२, कोटेश्वरमा दिउँसो भएको दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बा ३ ख ७३८७ नम्बरको बसबाट खसेका भक्तपुर नगरपालिका–१० घर भएका ४१ वर्षीय सहचालक सुरेन्द्र लघुको सोही बसले किच्दा गम्भीर घाइते भएका थिए। उपचारका लागि वीर अस्पताल लगिएको भए पनि बचाउन सकिएन। घटनापछि बस चालकलाई प्रहरीले पक्राउ गरेको छ।
यस्तै मोरङको बुढीगङ्गा गाउँपालिका–५ मा स ३ प ८८४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक १९ वर्षीय सुरज नुनियाको मृत्यु भएको छ। गम्भीर घाइते भएकालाई विराट टिचिङ अस्पताल गङ्गाचोकमा उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेका हुन्।
तेस्रो घटना कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिका–३ लक्ष्मीनगरमा आइतबार दिउँसो भएको हो। लु ३ त ५९५० नम्बरको थ्रेसर दुर्घटना हुँदा झण्डेनगरका ४२ वर्षीय पिताम्बर लोनियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। थ्रेसर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।