एनपीएलमा अवैध सट्टेबाजी चलाएको आरोपमा आठ भारतीय नागरिक पक्राउ
News Desk
Nov-24 , 2025 तारिख 12:00 बेलुका

नेपाल प्रिमियर लिग (एनपीएल) मा अवैध सट्टेबाजी चलाएको आरोपमा आठ भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले अनलाइनमार्फत सट्टेबाजी सञ्चालन गर्दै आएको सूचनाका आधारमा विशेष टोली परिचालन गरी उनीहरूलाई पक्राउ गरेको हो। ‘बेटाकुलर डट लाइभ’ नामको वेबसाइट प्रयोग गरी एनपीएलका खेलमा हार–जितका आधारमा अनलाइन जुवा चलाइरहेको पुष्टि भएपछि टोलीले काठमाडौं महानगरपालिका–१५, बुद्धनगरस्थित एक कोठामा छापा मारेको थियो।

पक्राउ पर्ने सबै जनाको घर भारतको आन्ध्र प्रदेशमा रहेको खुलेको छ। पक्राउ परेकाहरूमा राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, शेख सोयब, नविन माड्डेला, महमद रफी शेख, साई कुमार तम्मिसेट्टी र सेख चन्द बसल रहेका छन्।

मुलुकी अपराध संहिता २०७४ को दफा १२५(४) अनुसार सट्टेबाजी गर्न वा गराउन नहुने कानुनी व्यवस्था रहेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।