News Desk
बलिउडका प्रख्यात अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्। पछिल्ला केही महिनादेखि स्वास्थ्य समस्या झेलिरहेका धर्मेन्द्र निरन्तर उपचारमा रहेका थिए। गत कात्तिक २४ (नोभेम्बर १०) मा स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। तीन दिनको उपचारपछि उनले डिस्चार्ज पाए पनि स्वास्थ्यमा निरन्तर जटिलता बढ्दै गएपछि अन्ततः दुई हप्तापछि निधन भएको जनाइएको छ।
धर्मेन्द्रको पार्थिव शरीरलाई आज बिहान मुम्बईको विले पार्ले आर्यघाटमा अन्तिम संस्कार गरिएको हो। अन्तिम श्रद्धाञ्जलीका लागि बलिउडका चर्चित कलाकारहरूको ठूलो भीड पुगेको थियो। अमिताभ बच्चन, सलमान खान, आमिर खान, अक्षय कुमार, अजय देवगन, रणवीर सिंहलगायत दर्जनौँ कलाकारहरूले अन्तिम विदाइ दिएका थिए।
एउटा युगकै स्टार मानिने धर्मेन्द्रसँग बलिउडको लामो इतिहास जोडिएको छ। करिब सात दशकको अभिनय यात्रामा उनले ३ सयभन्दा बढी फिल्ममा काम गरेका थिए। शोले, चुपके चुपके, सीता और गीता, अनुपमा, धरम वीर, यादों की बारात जस्ता कालजयी फिल्महरूले उनलाई बलिउडको ‘ह्यान्डसम हीरो’का रूपमा स्थापित गराएका थिए। एक्शन, रोम्यान्स र कमेडी—तीनै विधामा उत्तिकै प्रभाव जमाउन सक्ने एक अद्वितीय कलाकारका रूपमा उनी सम्झिन्छन्।
धर्मेन्द्र दुई पत्नीका बुबा हुन्। पहिलो पत्नी प्रकाश कौरबाट सनी देवल र बबी देवल छन् भने दोस्रो पत्नी हेमा मालिनीबाट इशा देवल र अहाना देवल छन्। उनका छोराछोरीमध्ये सनी र बबी स्वयं बलिउडका लोकप्रिय अभिनेताहरू हुन्। इशा देवल पनि चर्चित अभिनेत्री हुन्।
धर्मेन्द्रले जीवनको अन्तिम समयसम्म अभिनयप्रति समर्पित रहँदै आएका थिए। उनको अन्तिम फिल्म ‘इक्कीस’ आगामी महिनामा रिलिज हुने तयारीमा छ। यस फिल्मलाई श्रद्धाञ्जलीको रूपमा प्रशंसकहरू विशेष रूपमा प्रतीक्षा गरिरहेका छन्।
उनीप्रति श्रद्धाञ्जली दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेका छन्, “धर्मेन्द्रजीको निधनले भारतीय सिनेमामा एक युगको अन्त्य भएको छ। उहाँले प्रत्येक पात्रमा जीवन भर्न सक्ने असाधारण क्षमता राख्नुहुन्थ्यो। भारतीय कलाक्षेत्रले उहाँको योगदान कहिल्यै बिर्सने छैन।”
बलिउडका कलाकारहरू, राजनीतिक व्यक्तित्व, फिल्म निर्माता–निर्देशक र करोडौँ प्रशंसकहरूले सामाजिक सञ्जालभरि श्रद्धाञ्जली व्यक्त गर्दै धर्मेन्द्रले छाडेको विरासत भारतीय चलचित्र क्षेत्रको गौरवपूर्ण इतिहासको हिस्सा सदैव रहने बताएका छन्।