सुमनराज अर्याल नेपाल सरकारको नयाँ मुख्यसचिव, ८ महिनासम्म सम्हाल्नेछन् जिम्मेवारी
News Desk
Nov-25 , 2025 तारिख 12:14 बेलुका

काठमाडौं | नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्। साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले रक्षा सचिवका रूपमा काम गर्दै आएका अर्याललाई मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

निजामती सेवामा २०५३ सालमा अधिकृतस्तरबाट करियर सुरु गरेका अर्याल २०७७ सालमा सचिवमा बढुवा भएका थिए। पछिल्लो समय उहाँ रक्षा मन्त्रालयको सचिव भएर कार्यरत हुनुहुन्थ्यो। यसअघि अर्यालले कोशी प्रदेशको प्रमुख सचिव, महिला तथा बालबालिका मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगसहित राज्यका महत्वपूर्ण निकायहरूमा जिम्मेवारी सम्हालेका छन्।

हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्ष उमेरहद पूरा गरी मंगलबारदेखि सेवानिवृत्त हुने भएपछि सरकारकाे निर्णयले सुमनराज अर्याललाई उत्तराधिकारी बनाएको हो। नयाँ मुख्यसचिवले आगामी करिब ८ महिनासम्म कर्मचारी प्रशासनको नेतृत्व गर्नेछन्। ५८ वर्ष उमेरहदमै २०८३ असार २६ गते उहाँ स्वयं पनि अवकाश प्राप्त गर्नेछन्।

यससँगै संघीय प्रशासनका शीर्ष नेतृत्वमा फेरबदल भएको छ भने नयाँ मुख्यसचिवबाट प्रशासनिक सुधार, नीति समन्वय र सरकारी कार्यसम्पादनका क्षेत्रहरूमा प्रभावकारी नेतृत्वको अपेक्षा गरिएको छ।