घरभित्रै भुसको थुप्रोभित्र गाडिएको अवस्थामा म​हिलाको श​व​ फेला 
News Desk
Nov-26 , 2025 तारिख 12:29 बेलुका

रौतहटको वृन्दावन नगरपालिका-९ भुसाहामा एक महिलाको हत्या भएको घटना सार्वजनिक भएको छ।

स्थानीय शेख आदिलकी २५ वर्षीया पत्नी तरिमा खातुनको शव घरभित्रै भुसको थुप्रोभित्र गाडिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घरभित्रै शव लुकाइ राखिएको भेटिएपछि गाउँमा ठूलो त्रास फैलिएको छ।

स्थानीयले घरबाट लगातार दुर्गन्ध फैलिएको जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले भुसको थुप्रामुनि खाडल खन्ने क्रममा शव बरामद गरेको हो।

प्रहरीका अनुसार मृतकका श्रीमान शेख आदिल साउदी अरबमा वैदेशिक रोजगारीमा छन। घटना सार्वजनिक भएपछि खातुनका ससुरा शेख अली मोहम्मदसहित घरका सबै सदस्य, डेढ वर्षीया नाति मोहम्मद आरिफ समेत, फरार भएका छन।

शव क्षत–विक्षत अवस्थामा भेटिएको र परिवारका सबै सदस्य एकैपटक बेपत्ता भएको कारण, प्रहरी प्रारम्भिक रूपमा योजना बनाइएको समूह संलग्नता हुन सक्ने अनुमान गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रबिन कार्कीले घटना योजनाबद्ध रुपमा घटाइएको प्रारम्भिक अनुसन्धानले देखाएको बताएका छन। विवाहपश्चात वर्षौंदेखि सोही घरमा बस्दै आएकी तरिमाको विभत्स हत्या र घरमै शव गाडिएको तथ्य सार्वजनिक भएपछि गाउँ स्तब्ध भएको छ।

प्रहरीले शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएको छ र फरार रहेका व्यक्तिहरूको खोजी तीव्र बनाएको छ।