News Desk
काठमाडौंका सडकमा देखिने खाल्डाखुल्डी तुरुन्त मर्मत गर्न ‘सडक एम्बुलेन्स’ सेवा सुरु गरिएको छ। नेपालमा पहिलोपटक यस्तो सेवा औपचारिक रूपमा बिहीबारदेखि सञ्चालनमा आएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सडक डिभिजन कार्यालय, काठमाडौंले तयार पारेको यो विशेष ‘सडक मर्मत एम्बुलेन्स’ को शुभारम्भ गरे। काठमाडौं जिल्लाभित्र पर्ने प्रमुख र रणनीतिक सडकहरूमा पहिचान हुने खाल्डा–खुल्डीलाई शीघ्र मर्मत गर्ने उद्देश्यसहित यो सेवा सञ्चालनमा ल्याइएको हो।
यसबैसँगै सडकमा भेटिने समस्याको तत्काल जानकारी दिन सकिने ‘मोबाइल एप’ पनि सार्वजनिक गरिएको छ। उक्त एपमार्फत सर्वसाधारणले खाल्डो वा क्षतिग्रस्त सडकको फोटो खिचेर अपलोड गर्न सक्छन्, र मर्मतपछि अद्यावधिक विवरण हेर्न पनि पाउँछन्।
मन्त्री घिसिङले विकसित देशमा प्रयोग हुने आधुनिक उपकरण र प्रविधि जस्तै अब नेपालमा पनि गुणस्तरीय र प्रभावकारी सडक मर्मत सेवा अघि सारिएको बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले सडक एम्बुलेन्सको प्रयोगले सडकसम्बन्धी पटक–पटक उठ्ने गुनासा तत्काल सम्बोधन हुने विश्वास व्यक्त गरे। त्यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सेवाले काममा पारदर्शिता र तीव्रता ल्याउने टिप्पणी गरे।
सडक डिभिजन प्रमुख सुबोध कुमार देवकोटाका अनुसार एम्बुलेन्स २४ घण्टा र वर्षभरि तत्पर रहनेछ। तालिम प्राप्त प्राविधिक टोलीले सूचना प्राप्त भएको स्थानमा पुगेर छिटोछरितो मर्मत पूरा गर्नेछ। एम्बुलेन्समा चेतावनी बत्ती तथा ट्राफिक व्यवस्थापनका उपकरणसमेत जडान भएकाले भीडभाडका बेला पनि आकस्मिक मर्मत सहज हुनेछ।