बाजुराको सदरमुकाम मार्तडीमा भीषण आगलागी
News Desk
Dec-02 , 2025 तारिख 03:58 बेलुका

बाजुराको सदरमुकाम मार्तडीमा मंगलबार दिउँसो भीषण आगलागी भएको छ, जसले ठूलो भौतिक क्षति पुर्‍याएको स्थानीय प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको कम्प्लेक्स डिपार्टमेन्टल स्टोरमा बिजुलीको तार सर्ट भएर आगो लागेको आशंका गरिएको छ। दिउँसो करिब १२:१५ बजे काठका काम चलिरहेको समयमा वायरिङमा समस्या आएपछि आगो अचानक फैलिएको बताइएको छ।

आगलागीले नजिकै रहेको फर्निचर उद्योग, गाडी मर्मत ग्यारेज र अन्य सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। ठूलो मात्रामा क्षति भएको अनुमान गरिए पनि विस्तृत विवरण संकलन गर्ने काम जारी छ। सुरक्षाकर्मी, स्थानीयवासी र दमकलका टोलीको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए। उहाँका अनुसार क्षतिको वास्तविक आँकडा जुटाउन टोली खटाइएको छ।