“अब पनि स्वविवेक प्रयोग नगर्ने हो भने गोठमै बस्न गए हुन्छ, चौरमै चर्न गए हुन्छ” रीमा विश्वकर्मा
News Desk
Dec-03 , 2025 तारिख 09:48 बेलुका

काठमाडौँ |  उज्यालो पार्टी नेपालको घोषणा सभामा अभिनेत्री तथा सञ्चारकर्मी रीमा विश्वकर्माले राजनीतिक नेतृत्व र नागरिक चेतनाको विषयमा तीखे अभिव्यक्ति दिएकी छन्। कार्यक्रममा बोल्दै उनले “अब पनि स्वविवेक प्रयोग नगर्ने हो भने गोठमै बस्न गए हुन्छ, चौरमै चर्न गए हुन्छ” भन्दै वर्तमान राजनीतिक अवस्थाप्रति असन्तोष व्यक्त गरिन्।

रीमाले मुलुकलाई सक्षम, स्पष्ट र जिम्मेवार नेतृत्व चाहिएको उल्लेख गर्दै प्रधानमन्त्री पदमा बसेर देश चलाउने जिम्मेवारी वहन गर्ने व्यक्तिले “गोली चलेको थाहा नपाउने” प्रकारको उदासीनता प्रकट गर्नु दुर्भाग्यपूर्ण भएको बताइन्।

उनले दलगत वाद–विवादमा मात्रै अल्झिएर जनतामाथि पर्ने प्रभाव नबुझ्ने राजनीतिक सोचले देशलाई अगाडि बढ्न नदिएको टिप्पणी गरिन्। “दलको वादमा मात्र अल्झिरहँदा नागरिकका वास्तविक समस्या हराइरहेका छन्, यस्तो मानसिकता बदलिएन भने चौरमै चर्न गए हुने अवस्था आउँछ,” रीमाले भनिन्।

उज्यालो पार्टीको आयोजनामा भएको घोषणा सभामा नयाँ वैकल्पिक राजनीतिक सोच, पारदर्शिता र उत्तरदायित्त्वका विषयमा भीडलाई सम्बोधन गर्दै उनले नागरिकलाई विवेकसहित नेतृत्व छान्न आग्रह गरेकी थिइन्।