News Desk
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन अब ९० दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगदेखि राजनीतिक दलसम्म सबैले तयारीको गति बढाएका छन्। चुनावको दिन नजिकिँदै जाँदा आयोगले आवश्यक प्राविधिक तथा प्रशासनिक प्रक्रियालाई द्रुतगति दिएको छ भने दलहरूले पनि आन्तरिक व्यवस्थापन, रणनीति र संगठन सक्रियता तीव्र पारेका छन्।
आयोगले शनिबारदेखि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका कार्यक्रमहरू अघि बढाउने निर्णय गरेको छ। आयोगका अनुसार मङ्सिर २१ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म दलहरूले समानुपातिकतर्फको चुनावका लागि आवेदन दिन सक्नेछन्। त्यसपछि मङ्सिर २४ गते आवेदन दिने दलहरूको सूची सार्वजनिक गरिनेछ।
समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्न राजनीतिक दलहरूलाई पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म समय तोकिएको छ। बन्दसूचीको अन्तिम प्रकाशन माघ ३० गते गर्ने आयोगले जनाएको छ।
प्रत्यक्ष तर्फको निर्वाचन प्रक्रियामा भने माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता गरिनेछ र सोही दिन प्राथमिक सूची सार्वजनिक हुनेछ। मनोनयनमाथि आपत्ति दर्ता गर्ने समय माघ ७ गतेसम्म रहनेछ।
माघ ८ गते उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ भने माघ ९ गते उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरिएको छ। सोही दिन अन्तिम नामावली प्रकाशित हुने र उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ।
आगामी तीन महिनाभित्रै सबै निर्वाचन तयारीहरू पूरा गर्ने लक्ष्यसहित आयोगले आफ्नो कामलाई तीव्र बनाएको छ।