News Desk
रुपन्देही । लैङ्गिक सामाजिक समावेशी मूलक बाली अवशेष व्यवस्थापन सम्बन्धी २ दिने बहुसरोकारवाला कार्यशाला लुम्बिनीमा सम्पन्न भएको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपाल र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ( इसिमोड ) को आयोजनामा सञ्चालित कार्यशाला बिहीबार र शुक्रबार २ दिन सञ्चालन भएको थियो । उक्त कार्यक्रममा सहभागीलाई स्वागत गर्दै इसीमोडका कार्यक्रम व्यवस्थापक रवि साउथले भारतलगायतका देशहरूमा भएका सिकाइको अनुकरण गरेर बालीका अवशेषहरूलाई व्यवस्थापन गर्ने काम गर्नु पर्ने बताए । यसैगरी, इसिमोडका लैङ्गिक तथा प्राकृतिक श्रोत विशेषज्ञ कमला गुरुङले लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही र कपिलवस्तुमा लैङ्गिक र सामाजिक रूपमा उत्तरदायी कार्यक्रम सञ्चालन गरी बाली अवशेष व्यवस्थापन, विद्यमान नीति र नियम बारे संवाद गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । गुरुङले किसानहरूलाई बाली अवशेष जलाउने कार्य कम गर्न किसानहरु तथा व्यवसायिकहरुलाई व्यवसायिक रुपमा सशक्त गर्दै सचेतनाका कार्यक्रम गर्दै जाने बताए ।

यस्तै, राष्ट्रिय कृषक समूह महासंघ नेपालका राष्ट्रिय निर्देशक केदार कोइरालाले बाली अवशेष व्यवस्थापनका सन्दर्भमा नेपालका विद्यमान नीतिहरूको अपूर्णता र कानुनको अभावमा पराल, छ्वाली खोस्टा लगायतका बालीका अवशेषहरू खेतमै जलाउँदा वातावरण प्रदूषणका साथै खेती प्रणालीमै असर पारेकाले यस विषयमा सरोकारवालबीच छलफल आवश्यक भएको बताए । त्यसैगरी, कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीका मन्त्री दिनेश पन्थीले बाली अवशेष जलाउँदा पर्ने प्रभावका विषयमा बहुसरोकावालासँग मसिनो गरी छलफल गरेर आगामी बाटोको समेत तय गर्ने महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई आभार व्यक्त गरेका थिए । यसैगरी, उक्त कार्यक्रममा राष्ट्रिय राष्ट्रिय कृषक समूह लुम्बिनी प्रदेशका अध्यक्ष सर्बजित विष्टले बाली अवशेष जलाउने कामलाई कम गर्न सबै सरोकारवालाले आ - आफ्नो ठाउँबाट सहयोग र समन्वय गर्नु पर्ने बताए ।
त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय ( लुम्बिनी प्रदेश ) का सचिव अनिल मरासिनीले बाली अवशेष व्यवस्थापन नीति, नियम र कानुन निर्माणमा प्रदेश सरकार गम्भीर भएर लाग्ने बताए । नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख धनपती यादवले निजी क्षेत्रलाई यसको व्यवस्थापनमा आउनको लागि आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका ३ वटा जिल्लाहरू ( रुपन्देही, कपिलवस्तु र नवलपरासी ) का किसानहरु, स्थानीय सरकार, प्रदेश सरकार र यससँग सरोकार राख्ने संस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए । २ दिनसम्म सञ्चालन भएको कार्यशालामा नेपालमा बाली अवशेष व्यवस्थापन नीति तथा अभ्यास, बाली अवशेष व्यवस्थापनमा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको भूमिका, लैङ्गिक समावेशी एवं सामाजिक उत्तरदायी बाली अवशेष, खुल्ला अवशेष जलन अभ्यास न्यूनीकरणमा बहुसरोकारवालाको भूमिका, बाली अवशेष उपयोगिताको महत्त्वलगायतका विषयमा विशेषज्ञहरुको प्रस्तुति, प्यानल छलफल र समूह कार्य गर्दै आगामी कार्य योजना तयार गरिएको आयोजक संस्थाले जनाएको छ ।
