‘महाधिवेशन र निर्वाचन तयारीबाट पार्टी एकसाथ अघि बढ्दै छ​ं महामन्त्री थापा
News Desk
Dec-07 , 2025 तारिख 07:09 बिहान

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन तथा प्रतिनिधि सभा निर्वाचन– दुवै तयारी समानान्तर रूपमा अघि बढाएको स्पष्ट गरेका छन। नेपाल प्रेस युनियन सर्लाहीले शनिबार मलङ्गवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले केही नेताहरूमा देखिएको ‘महाधिवेशनले निर्वाचन तयारीमा बाधा पुग्ने हो कि’ भन्ने चिन्ता निराधार भएको बताउँदै, संगठन र चुनाव दुवै मोर्चामा पार्टी सक्रिय रूपमा उभिएको बताए।

उनका अनुसार फागुन २१ अघि महाधिवेशन गर्ने वा नगर्ने सम्बन्धी आन्तरिक बहसले केही समय खर्चिए पनि अन्ततः छोटो समयमा महाधिवेशन सम्पन्न गरी सशक्त रूपमा निर्वाचनमा होमिने निर्णय भइसकेको छ। उनले आसन्न निर्वाचनले संविधानमा थप क्षति हुन नदिन कांग्रेसले लोकतान्त्रिक बाटो रोजेको पनि स्पष्ट पारे।

थापाले भने, “हामी फागुन २१ को निर्वाचनमा पूर्ण रूपमा प्रतिबद्ध छौँ। अन्य दलहरूको तयारी पनि तीव्र रूपमा भइरहेको छ, अब सरकारले सबै आशंका हटाएर निष्पक्ष र सुरक्षित वातावरणमा चुनाव गराउनुपर्छ।” जेन-जी आन्दोलनपछि फरार रहेका कैदीबन्दी तथा लुटिएका हतियार – आगामी निर्वाचनका चुनौती भएको उल्लेख गर्दै उनले सुरक्षा व्यवस्थापनमा कडाइ आवश्यक भएको जानकारी सरकारलाई दीसकेको बताए।

प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वदलीय बैठकमा पनि सबै समूहलाई निर्वाचनमा सहभागी हुने वातावरण बनाउनुपर्ने विषयमा ध्यानाकर्षण गराएको उनले सुनाए।

यता, थापाले आगामी महाधिवेशनमा सभापति पदका लागि आफू उम्मेदवार बन्ने घोषणा गर्दै नयाँ नीतिसहित पार्टीलाई चलायमान बनाउने लक्ष्य राखेको बताए। महाधिवेशनपछि देशव्यापी भ्रमण सुरु गर्ने र प्रतिनिधि सभा निर्वाचनमा भने फेरि काठमाडौँबाटै प्रतिस्पर्धा गर्ने उनको भनाइ छ।