हेटौंडा बजार क्षेत्रको सडक विस्तार अभियान तीव्र गतिमा
News Desk
Dec-07 तारिख 07:54 बिहान • आज

हेटौंडा बजार क्षेत्रको सडक विस्तार अभियान तीव्र गतिमा अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार १५ दिने अन्तिम अल्टिमेटम सकिएसँगै शनिबारदेखि राजमार्गसँगै जोडिएका संरचना हटाउने काम बलियो सुरक्षा व्यवस्थामध्ये सुरु गरिएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको उपस्थिति रहेको स्थलमा बिहानैदेखि डोजर, जेसिभी र हेभी एक्साभेटर परिचालन गरिएर २५-२५ गज सडक सीमाभित्र पर्ने घर, व्यवसाय र अन्य निर्माणहरू हटाउन थालिएको हो।

हाल घर तथा व्यवसायिक संरचनाहरूको अगाडिको भाग सांकेतिक रूपमा भत्काइए पनि जमिन खाली गर्ने कार्यलाई चरणबद्ध रूपमा अघि बढाइँदै छ। घरभित्रका सामान, झ्याल, ढोका र जस्तापाता सुरक्षित रूपमा निकाल्न दुई दिनको समय दिइएको र त्यसपछि चार दिनभित्र सडक सीमाभित्रका सम्पूर्ण संरचना हटाइसक्ने लक्ष्य राखिएको डिभिजन प्रमुख गुरूप्रसाद अधिकारीले जानकारी दिनुभयो।

सडक विस्तार अन्तर्गत महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म ६.३ किमि र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म ३.२ किमि गरी मकवानपुरमा कुल ९.५ किमि सडक खण्ड चौडा गरिनेछ। यससँगै हेटौंडाको व्यस्त यातायात चाप कम हुने र दिगो शहरी संरचना विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।