News Desk
जेन–जी आन्दोलनका घटनाको सत्यतथ्य छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग बयान लिएको छ।
सिंहदरबारस्थित आयोगको कार्यालयमा शुक्रबार प्रहरी प्रमुख कार्की करिब एक घण्टा उपस्थित भई बयान दिनुभएको हो। उहाँ साढे ३ बजे आयोगमा उपस्थित हुनुभएको र आगामी केही दिनसम्म थप बयानका लागि बोलाइने आयोग स्रोतले जनाएको छ।
जेन–जी आन्दोलनका बेला काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व सम्हालिरहेका कार्कीसँग आन्दोलनका क्रममा मानवीय क्षति किन र कसरी भयो, गोली चलाउने आदेश कहाँबाट र कस्तो परिस्थितिमा आएको थियो भन्ने विषयमा केन्द्रित भएर प्रश्न–जवाफ गरिएको स्रोतको भनाइ छ।
आयोगले आजै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग पनि बयान लिएको छ। साथै, सेनालाई समेत बयानका लागि बोलाइएको छ।
आयोगले अब तत्कालीन गृहमन्त्री रमेश लेखक र त्यसपछिका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बयान लिने तयारी गरिरहेको जनाएको छ।
यसैबीच, सरकारले आयोगको कार्यादेश थप गरेको विषयमा आयोगले असन्तुष्टि व्यक्त गरेको छ। हालसम्म आयोगले जेन–जी आन्दोलनसँग सम्बन्धित डेढ सयभन्दा बढी व्यक्तिसँग बयान लिइसकेको छ। आयोगको तोकिएको समयसीमा आगामी पुस ८ गते समाप्त हुँदैछ।