News Desk
फिलिपिन्सबाट एमबीबीएस अध्ययन गर्न कम्तीमा दुई वर्षे प्रि-मेडिसिनसहित सात वर्षे कोर्स पूरा गर्नुपर्ने मापदण्ड लागू छ। उक्त मापदण्ड नपुगेको भन्दै मेडिकल काउन्सिलले लाइसेन्स परीक्षा दिन नदिएपछि प्रभावित विद्यार्थीहरू पछिल्ला चार महिनादेखि काउन्सिल धाइरहेका छन्। काउन्सिलले नेपालमै थप ६ महिना इन्टर्नसिप गराउने निर्णय गरेको भए पनि त्यो कार्यान्वयन नहुँदा विद्यार्थीहरूले असन्तुष्टि जनाएका छन्।
फिलिपिन्समा एमबीबीएस अध्ययन गर्न कुल सात वर्ष लाग्ने व्यवस्था छ। यसअनुसार विद्यार्थीले सुरुमा दुई वर्षे प्रि मेडिसिन अर्थात् बीएस बायोलोजी पूरा गरेपछि मात्र चार वर्षको मेडिसिन अध्ययन र एक वर्षको इन्टर्नसिप गर्नुपर्छ। तर फिलिपिन्सको साउथवेस्टर्न विश्वविद्यालयबाट एक वर्षे बीएससहित छ वर्षे कोर्स पूरा गरेका १३ जना विद्यार्थी हाल मेडिकल काउन्सिलबाट उपाधिको मान्यता र लाइसेन्स परीक्षामा सहभागी हुने अनुमति माग्दै चार महिनादेखि निरन्तर धाइरहेका छन्। काउन्सिलले भने बीएस बायोलोजीमा आवश्यक क्रेडिट आवर नपुगेको भन्दै उनीहरूलाई मान्यता नदिएको छ।
मेडिकल काउन्सिलका अनुसार फिलिपिन्समा बीएस बायोलोजी दुई वर्षे हुनुपर्ने प्रावधान भए पनि ती विद्यार्थीहरूले एक वर्ष मात्र अध्ययन गरेकाले तोकिएको क्रेडिट आवर पूरा नभएको ठहर गरिएको हो। स्वास्थ्य मन्त्रालय र विद्यार्थीहरूको दबाबपछि काउन्सिलले नेपालका अस्पतालमा थप ६ महिनाको इन्टर्नसिप पूरा गरेपछि लाइसेन्स परीक्षामा सहभागी गराउने निर्णय पनि गरेको थियो। तर उक्त निर्णयप्रति रजिस्ट्रारले असहमति जनाउँदै हालसम्म कार्यान्वयन नगरेको विद्यार्थीहरूको गुनासो छ।
यसअघि सन् २०२० मा कोभिड १९ महामारीका बेला भने मेडिकल काउन्सिलले फिलिपिन्सबाट बीएस बायोलोजीमा १८ महिना अनलाइन अध्ययनसहित एमबीबीएस पूरा गरेका विद्यार्थीहरूलाई मान्यता दिने निर्णय गरेको थियो।