नेपाली कांग्रेस तनहुँबाट​ ३९ नेताको नाम​ सिफारिस​
News Desk
Dec-14 , 2025 तारिख 01:43 बिहान

नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ। पार्टीको शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाउँदै औपचारिक रूपमा सिफारिस अघि बढाएको हो।

जिल्ला कार्यसमितिको निर्णयअनुसार तनहुँ क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गोविन्द भट्टराईसहित १० जनाको नाम सिफारिस गरिएको छ। यस्तै, क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य शङ्कर भण्डारीसहित ७ जना उम्मेदवार सिफारिस भएका छन। पार्टीका जिल्ला सचिव लक्ष्मीभक्त खनालका अनुसार राष्ट्रिय सभाका लागि पनि केन्द्रीय सदस्य ध्रुव वाग्लेसहित ७ जनाको नाम सिफारिस सूचीमा समावेश गरिएको छ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ गोविन्द भट्टराई, रामचन्द्र पोख्रेल, सरिता गुरुङ, दीपक भट्टराई, डा। जगदीशचन्द्र पोखरेल, रमेशबाबु भट्टराई, पुरुषोत्तम खनाल, उद्धव पौडेल र श्यामकुमारी मौराती सिफारिस भएका छन। समानुपातिकतर्फ दलित समूहबाट डोबाटे विक र यमुना विक, महिलातर्फ चिनु पोखरेल, पवित्रा पौडेल, मीरा जोशी, चिजा श्रेष्ठ र एलिजा ढकाल, अपाङ्ग तथा अल्पसंख्यक समूहबाट प्रकाश पन्थ, जब्बरदिन मियाँ मुन्ना र साहिदा खातुन, अन्य समूहबाट समुन्द्र गोदार र हरिदत्त पौडेल सिफारिसमा परेका छन।

तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ शङ्कर भण्डारी, प्रदीप पौडेल, पुष्पराज पराजुली, चुडामणि खनाल, चामबहादुर थापा, डा। यदुनाथ खनाल र नवीन खनालको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ मायादेवी राना, इन्दिरा खनाल र सन्तोष घिमिरेको नाम अघि सारिएको छ।

यसैगरी राष्ट्रिय सभाका लागि कुलचन्द्र वाग्ले, ध्रुव वाग्ले, रघुनाथ पौडेल, लक्ष्मी आचार्य, डा। कृष्णप्रसाद गौतम, अर्जुन अधिकारी र विद्या खनाल सिफारिस भएका छन।

सचिव खनालका अनुसार क्षेत्र नम्बर १ र २ का संसदीय समितिको सिफारिसका आधारमा तयार पारिएको नामावली नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिबाट गण्डकी प्रदेश कार्यसमिति हुँदै केन्द्रीय कार्यसमितिमा पठाइसकिएको छ। अन्तिम उम्मेदवार छनोट भने पार्टीको केन्द्रीय कार्यसमितिले समग्र राजनीतिक सन्तुलन, क्षेत्रीय अवस्था र पार्टी रणनीतिका आधारमा गर्नेछ।

पार्टी नेतृत्वले समयमै उम्मेदवार सिफारिस गरेर चुनावी तयारीलाई तीव्र बनाउने रणनीति लिएको बताइएको छ। तनहुँमा कांग्रेसको संगठनात्मक आधार बलियो मानिँदै आएको छ, जसका कारण यस निर्वाचनलाई पार्टीले विशेष महत्वका साथ हेरिरहेको छ।