News Desk
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ। महाधिवेशन आयोजक समितिका अनुसार बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुनेछ, जहाँ पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइनेछ।
हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशनको औपचारिक उद्घाटन सम्पन्न भएपछि एमाले आजदेखि नेतृत्व चयनको चरणमा प्रवेश गरेको हो। बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व र केन्द्रीय संरचना तय गरिनेछ।
देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन्।
पार्टी नेतृत्व चयन सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको एमालेले जनाएको छ। सहमति हुन नसकेमा भने विद्युतीय भोटिङ मेसिन प्रयोग गरी मतदानमार्फत नेतृत्व चयन गर्ने तयारी गरिएको छ।
यता, ११औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको एमालेभित्र हाल दुई धारबीच प्रतिस्पर्धा देखिएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्ना पक्षमा प्रतिनिधि आकर्षित गर्न सक्रिय रहेका छन्।
संस्थापन पक्षले ओलीको नेतृत्व अपरिहार्य रहेको सन्देश प्रवाह गरिरहेको देखिन्छ भने इतर पक्षले मौन रूपमा ओलीविरोधी धार बलियो बनाउँदै लगेको आकलन गरिएको छ। ओली र पोखरेल दुवै पक्षले केन्द्रीय सदस्यदेखि अध्यक्षसम्म समूहगत रूपमा उम्मेदवारी दिने तयारी गरिरहेका भए पनि हालसम्म कुनै पनि पक्षले पदाधिकारीको औपचारिक सूची सार्वजनिक गरेका छैनन्।