सबै मिलेर देश विकासको अभियानमा समर्पित हुन राष्ट्र​प​ति पौडेल​को आह्वान
News Desk
Dec-15 , 2025 तारिख 07:11 बेलुका

राष्ट्रपति रामचन्द्र पौडेलले जनताबाट प्राप्त जिम्मेवारीलाई आत्मसात गर्दै सबै मिलेर देश विकासको अभियानमा समर्पित हुन आह्वान गरेका छन्। उनले राष्ट्र निर्माणका लागि नवीन सोच, कार्यशैली र योजनासहित त्यसलाई कार्यान्वयन गर्न दृढ इच्छाशक्ति, ऊर्जा र नैतिक तथा चरित्रवान नेतृत्व अपरिहार्य रहेको उल्लेख गरे।

३१औँ महानगर दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताको विश्वास र अपेक्षालाई गहिरो रूपमा बुझेर अघि बढ्नुपर्ने बताए। इतिहासबाट पाठ सिक्दै वर्तमान आवश्यकता सम्बोधन गर्नु र भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले राजनीति पेसा वा व्यवसाय नभई समाजसेवाको सर्वोच्च माध्यम हो भन्ने सोच विकसित गर्न आवश्यक रहेको बताए। उनले नेपाली जनताले नेतृत्वबाट यही अपेक्षा राखेको र युवा पुस्ताको आन्दोलनमा पनि यही चाहना प्रकट भएको उल्लेख गरे।

देशले भोगिरहेका समस्याको समाधान खोज्न जनताको अभिमत लिनु लोकतन्त्रको सर्वोच्च अभ्यास भएको बताउँदै राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन सबैलाई आग्रह गरे। उक्त निर्वाचनमार्फत युवापुस्ताले चाहेको परिवर्तनलाई मूर्तरूप दिँदै सामाजिक न्याय र सुशासनमार्फत समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन उनले आह्वान गरे।

यस अवसरमा राष्ट्रपति पौडेलले काठमाडौँ महानगरपालिकाले स्थानीय सरकारका रूपमा आफ्नो जिम्मेवारी स्पष्ट रूपमा निर्वाह गरेको उल्लेख गर्दै महानगरले सम्पादन गरेका कार्य, प्रवाह गरेका सेवा र विस्तार गरेका सम्बन्धहरूको प्रशंसा गरे। आर्थिक, सामाजिक तथा भौतिक विकाससँगै सहरी व्यवस्थापनमा देखाएको नवीनता र सक्रियता प्रशंसनीय रहेको उनले बताए।