News Desk
नेपालको संविधानले मिश्रित निर्वाचन प्रणालीलाई व्यवस्था गरेको छ। यस प्रणालीअन्तर्गत कुल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र बाँकी ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने प्रावधान रहेको छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तय गरिसकेको छ। सो दिन मतदाताले दुईवटा मतपत्र प्रयोग गरी मतदान गर्नेछन्। सामान्यतः निर्वाचनमा सहभागी राजनीतिक दलहरूले मिश्रित प्रणालीअनुसार प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम्मेदवारी दिने अभ्यास गर्दै आएका छन्। संविधानको व्यवस्था अनुसार दलहरूले दुवै प्रणालीमा सहभागिता जनाउँदै उम्मेदवार चयन गर्ने व्यवस्था छ।
तर निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार केही राजनीतिक दलहरूले भने प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्र सहभागिता जनाई समानुपातिकतर्फ उम्मेदवारी नदिने देखिएको छ। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन १०० राजनीतिक दल दर्ता भएका छन्, जसका लागि ९३ वटा निर्वाचन चिन्ह उपलब्ध गराइएको छ। यस्तै, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने कुल ११४ राजनीतिक दल दर्ता भएका छन्।
आयोगले तोकेको कार्यविधि पूरा गरी निर्वाचन प्रयोजनका लागि १०२ राजनीतिक दल दर्ता भएका छन् भने राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार एकल निर्वाचन चिन्ह लिएर १२ वटा दलले दर्ता गराएका छन्। आयोगका अनुसार प्रत्यक्ष प्रणालीमा मात्र सहभागी हुने दलहरूमा राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी र राष्ट्रिय समुन्नति पार्टी रहेका छन्।
यसैगरी राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रवाद युवा मोर्चा, लोक दल, राष्ट्रवादी एकता पार्टी, विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी तथा नेपाल सर्वोदय पार्टी पनि प्रत्यक्ष निर्वाचन प्रणालीमै सीमित रहने भएका छन्। यी दलहरूले प्रत्यक्षतर्फ भाग लिए पनि समानुपातिक प्रणालीमा भने सहभागी नहुने निर्णय गरेका हुन्।
समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत तथा निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार केही राजनीतिक दलहरूले अन्य दलको निर्वाचन चिन्ह प्रयोग गरी समानुपातिकतर्फ सहभागिता जनाउने भएकाले छुट्टै रूपमा दल दर्ता नगरेका हुन्।