राष्ट्रपतिका राजनीतिक विज्ञ थापाले पदबाट दिए राजीनामा
News Desk
Dec-17 , 2025 तारिख 06:28 बिहान

सक्रिय राजनीतिमा पुनः होमिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपतिका राजनीतिक विज्ञका रूपमा २०७९ चैत १४ गतेदेखि कार्यरत रहेका नेपाली कांग्रेस नेता थापाले उक्त जिम्मेवारीबाट अलग भएको जानकारी दिएका हुन्। राष्ट्रपतिलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्र मंसिर १२ गतेकै मितिमा भए पनि मंगलबार मात्रै सो पत्र सार्वजनिक गरिएको हो।

आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचन र नेपाली कांग्रेसको महाधिवेशनलाई ध्यानमा राख्दै आफूले राजीनामा दिएको थापाले पत्रमार्फत स्पष्ट पारेका छन्। पत्रमा उनले मूलधारको राजनीतिमा सक्रिय भई आफ्नो राजनीतिक भविष्य अघि बढाउन चाहेको उल्लेख गरेका छन्।

धनकुटाको मुगा स्थायी घर भएका थापा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले नेता राजेन्द्रकुमार राईसँग पराजित भएका थिए। हाल नेपाली कांग्रेस धनकुटा जिल्ला समितिले उनलाई राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको रूपमा सिफारिस गरेको छ।