नेकपा एमालेको मतदान प्रक्रिया साढे २१ घन्टापछि बिहीबार बिहान सम्पन्न
News Desk
Dec-18 , 2025 तारिख 08:50 बिहान

नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि गरिएको मतदान प्रक्रिया साढे २१ घन्टापछि बिहीबार बिहान सम्पन्न भएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार बुधबार बिहान ९ बजेर २० मिनेटमा विद्युतीय मतदान मेसिनमार्फत सुरु भएको मतदान आज बिहान करिब ७ बजे टुंगिएको हो। उनका अनुसार अब मतगणनाको अन्तिम तयारी भइरहेको छ।

बिहीबार बिहान साढे ७ बजेतिर नेपालखबरसँग कुरा गर्दै उनले करिब आधा घन्टाभित्र मतगणना सुरु हुने र गणना सुरु भएको दुई घन्टाभित्र प्रारम्भिक नतिजा आउने अपेक्षा गरिएको जानकारी दिए।

एमाले महाधिवेशनमा कुल २ हजार २ सय ६३ मतदाता रहे पनि २ हजार २ सय २७ मत मात्र खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। विभिन्न कारणले ३६ जना मतदाताले मतदान गर्न नपाएका हुन्।

नयाँ नेतृत्व चयनका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्ना प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यसबाहेक दुवै प्यानलमा नसमेटिएका केही उम्मेदवारले स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिएका छन्।