नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
News Desk
Dec-18 , 2025 तारिख 07:01 बेलुका

नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। सम्पन्न निर्वाचनमा ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्दै पुनः नेतृत्व सम्हालेका हुन्। अध्यक्ष पदका अर्का प्रत्याशी ईश्वर पोखरेलले ५ सय ६४ मत ल्याएका छन्।

पूर्वमहासचिवसमेत रहेका पोखरेलका लागि अध्यक्ष पदको यो पहिलो प्रतिस्पर्धा थियो। ओली यसअघि २०७१ मा काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए भने २०७८ मा सौराहामा सम्पन्न महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका थिए। यसअघि भने २०६५ मा काठमाडौंमा भएको आठौँ महाधिवेशनमा ओली झलनाथ खनालसँग पराजित भएका थिए।

यस्तै, एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्। उनले १ हजार २२८ मत प्राप्त गर्दै महासचिवमा दोस्रो कार्यकाल सुनिश्चित गरेका हुन्। महासचिव पदका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल पुनः नेतृत्वमा दोहोरिएका हुन्।

दसौँ महाधिवेशनबाट महासचिव बनेका पोखरेल दोस्रो कार्यकालका लागि सफल हुँदा पाण्डे भने महासचिव पदमा लगातार दोस्रो पटक पराजित भएका छन्। यसअघि नवौँ महाधिवेशनमा पनि पाण्डे ईश्वर पोखरेलसँग पराजित भएका थिए।