एमाले पदाधिकारीको अन्तिम मत परिणाम सार्वजनिक, ओलीसहित शीर्ष नेतृत्व निर्वाचित
News Desk
Dec-18 , 2025 तारिख 08:01 बेलुका

काठमाडौँ । नेकपा एमालेको पदाधिकारी चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। कुल २ हजार २२७ मत खसेको निर्वाचनमा अध्यक्षदेखि सचिवसम्मका पदमा नयाँ नेतृत्व चयन भएको हो।

अध्यक्ष पदमा केपी शर्मा ओली १ हजार ६ सय ६३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष पदमा गोकर्णराज विष्ट, पृथ्वी सुव्वा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ र विष्णु प्रसाद पौडेल विजयी भएका छन्। विष्टले १ हजार ३ सय ६८, पृथ्वी सुव्वा गुरुङले १ हजार ७ सय ३७, रघुजी पन्तले १ हजार २ सय ५८, बादलले १ हजार ५ सय १६ र पौडेलले १ हजार ६ सय ७५ मत प्राप्त गरेका छन्। अन्य उपाध्यक्ष पदका उम्मेदवारहरू पराजित भएका छन्।

महासचिव पदमा शंकर पोखरेल १ हजार २ सय २८ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धी सुरेन्द्र प्रसाद पाण्डेले ९ सय ९९ मत प्राप्त गरे।

उपमहासचिव पदतर्फ योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट विजयी भएका छन्। भट्टराईले १ हजार ३ सय ४८, महासेठले १ हजार ३ सय ६८ र भट्टले १ हजार ४ सय ५२ मत ल्याएका छन्।

सचिव पदमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, यमलाल कडेल, राजन भट्टराई, शेरधन राई र हिक्मत कुमार कार्की विजयी भएका छन्। उनीहरूले क्रमशः १ हजार ३ सय ३१, १ हजार ५ सय ६, १ हजार ५ सय ३०, १ हजार १ सय ८, १ हजार ५ सय ३४, १ हजार १ सय ८५, १ हजार १ सय ८१, १ हजार ५ सय ३ र १ हजार ३ सय ३७ मत प्राप्त गरेका छन्।

महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले आगामी दिनमा पार्टी संगठन सुदृढीकरण, आन्तरिक एकता र राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।