News Desk
काठमाडौं । नेपाल मेडिकल काउन्सिल ( NMC ) को आसन्न निर्वाचनमा सदस्य पदका लागि डा. बुदिमान तामाङले उम्मेदवारी दिएका छन् । हाल एम.डी. ( Ophthalmology ) तेस्रो वर्षमा अध्ययनरत तथा न्याम्प्समा आवासीय चिकित्सकको रूपमा कार्यरत डा. तामाङले चिकित्सकको हक - हित, पेशागत मर्यादा तथा समग्र स्वास्थ्य प्रणालीको सुधारलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् ।
डा. तामाङ विगतदेखि नै स्वास्थ्य क्षेत्रमा देखिएका संरचनात्मक समस्या, श्रम असन्तुलन, चिकित्सकमाथि हुने अन्याय तथा अव्यवस्थित नीति निर्माणको विरोधमा निरन्तर आवाज उठाउँदै आएका छन्, तर ती आवाजहरू नीति / निर्माणको तहसम्म पुग्न नसकेको यथार्थलाई आत्मसात गर्दै, अब प्रत्यक्ष निर्वाचित भई नीति / निर्माणमै रहेर काम गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको तामाङले बताएका छन् ।
स्वास्थ्य सुरक्षा र श्रम सन्तुलनमा जोड
डा. तामाङले स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सकहरूको साप्ताहिक ड्युटी समय अधिकतम ४८ घण्टा सुनिश्चित गरिने व्यवस्था प्रभावकारी रूपमा लागू गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, समयसापेक्ष पारिश्रमिक, जोखिम भत्ता, एन्टिसोसियल ड्युटी भत्ता तथा विकट क्षेत्र भत्ता वैज्ञानिक र व्यवहारिक आधारमा निर्धारण गरिने तामाङको एजेन्डा रहेको छ । यसले नयाँ सिफ्ट सञ्चालन भई थप चिकित्सकका लागि रोजगारी सिर्जना हुने, साथै नयाँ स्नातक चिकित्सकहरूलाई अवसरबाट वञ्चित गर्ने विद्यमान सिन्डिकेटयुक्त प्रणाली अन्त्य हुने तामाङको भनाइ छ ।
NMC को कार्यक्षमता र गरिमा अभिवृद्धि
मेडिकल अभ्यासमा देखिने जटिलतालाई लापरवाहीको नाममा अन्य निकायबाट हुने एकपक्षीय निर्णय, NMC को ढिलासुस्ती तथा प्रणालीगत कमजोरीलाई सुधार गर्दै काउन्सिलका सम्पूर्ण कामकारबाही छिटो, पारदर्शी, निष्पक्ष र डिजिटल प्रणालीमार्फत सञ्चालन गरिने डा. तामाङको प्रतिबद्धता छ । यसले चिकित्सकप्रतिको सामाजिक विश्वास र आत्मसम्मान पुनःस्थापित हुने अपेक्षा गरिएको छ ।
मेडिकल इन्डेम्निटी बीमा अनिवार्य
नेपालमा कार्यरत प्रत्येक चिकित्सकका लागि मेडिकल इन्डेम्निटी बीमा अनिवार्य गराई पेशागत जोखिमबाट आर्थिक सुरक्षा सुनिश्चित गर्ने योजना पनि डा. तामाङको प्रमुख एजेन्डामा रहेको छ ।
क्वाकरी नियन्त्रण र औषधि बिक्री नियमन
डा. तामाङले नेपालमा व्याप्त क्वाकरी प्रथाको अन्त्य गर्दै योग्य तथा दर्ता प्राप्त चिकित्सकको मर्यादा संरक्षण गर्ने बताएका छन् । साथै, चिकित्सकको सिफारिसविना गैर - चिकित्सकद्वारा औषधि बिक्री तथा वितरण गर्ने अवैध अभ्यासलाई कडाइका साथ नियन्त्रण गर्ने नीति कार्यान्वयन गरिने छ ।
व्यवस्थित रिफरल प्रणाली
दूरदराज तथा प्राथमिक स्वास्थ्य केन्द्रबाट टर्सरी केयर सेन्टरमा बिरामी रिफर गर्दा चिकित्सकहरूबीच समन्वय हुने व्यवस्थित रिफरल प्रणाली विकास गर्ने तामाङले बताएका छन्, जसले नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हक संरक्षणमा टेवा पुग्ने छ ।
डा. तामाङले स्वास्थ्य क्षेत्रका वास्तविक समस्या बुझ्ने, भोग्ने र समाधान गर्न सक्ने नेतृत्व आजको आवश्यकता भएको उल्लेख गर्दै, सम्पूर्ण चिकित्सकहरूलाई आफ्नो अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन् ।