News Desk
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने भएका छन्।
रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत लामिछाने छिट्टै जिम्मेवारीमा फर्किने जानकारी गराएका हुन्। विज्ञप्तिमा भनिएको छ, “कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी सभापतिज्यू तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्किनुहुने व्यहोरा अवगत गराउँदछौँ।”
यसैबीच, रास्वपाले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सभापति लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गरेको छ। पार्टीले न्यायालयको निर्णयलाई स्वागत गर्दै विधिको शासन र कानुनी सर्वोच्चताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
विज्ञप्तिमा उल्लेख गरिएको छ, “विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सधैँ प्रतिबद्ध रहेको छ।” साथै, सभापति लामिछानेमाथि लगाइएका मुद्दाहरू राजनीतिक प्रतिशोधको उपज भएको दाबी गर्दै हालको सरकारले ती विषयमा आवश्यक कदम चाल्ने विश्वास पार्टीले व्यक्त गरेको छ।
रास्वपाले लामिछानेको पक्षमा समर्थन जनाउने देश–विदेशमा रहेका न्यायप्रेमी नेपाली, पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकहरूप्रति आभारसमेत प्रकट गरेको छ। राजनीतिक प्रतिशोधविरुद्ध एकजुट भई निरन्तर खबरदारी गरेकोमा पार्टीले सबैप्रति धन्यवाद ज्ञापन गरेको छ।