प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल निर्धारण
News Desk
Dec-20 , 2025 तारिख 06:25 बिहान

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल निर्धारण गरिएको छ। निर्वाचन आयोगले मतदातालाई सहज र पायक पर्ने गरी मतदान व्यवस्था मिलाउन १६८ वटा नयाँ मतदानस्थल थप गरेको जनाएको छ।

यसअघि देशभर १० हजार ८९२ मतदानस्थल कायम रहेका थिए। पुनरावलोकनका क्रममा प्रयोगमा नआएका, अपायक परेका तथा समायोजन आवश्यक परेका ९३ वटा मतदानस्थल खारेज गरिएको आयोगले जानकारी दिएको छ। मतदातालाई सहज रूपमा मतदान गर्न सक्ने वातावरण बनाउने उद्देश्यले पायक पर्ने स्थानमा मतदानस्थल थप गरिएको हो।

मतदानस्थल पुनरावलोकनका क्रममा स्थलको नाम र ठेगानामा देखिएका त्रुटि सच्याइएको छ भने आवश्यकताअनुसार मतदातालाई आंशिक वा पूर्ण रूपमा अन्य पायक पर्ने मतदानस्थलमा स्थानान्तरण गरिएको छ। कतिपय मतदातालाई साविककै अर्को नजिकको मतदानस्थलमा समायोजनसमेत गरिएको आयोगले जनाएको छ।

यसअघि निर्वाचन आयोगले सार्वजनिक सूचना जारी गर्दै मतदानस्थल पुनरावलोकनसम्बन्धी जानकारी गराएको थियो। पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा समावेश हुन छुट भएमा दाबी–विरोध गर्न आग्रह गरिएको थियो। एउटै वडाभित्र आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिन सक्ने व्यवस्था समेत गरिएको थियो।

यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी भएसँगै आसन्न निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत समावेशी समूहको प्रतिशत निर्धारण प्रक्रिया थप सहज भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएको हो। नेपाल सरकारले राष्ट्रिय जनगणना २०७८ का तथ्याङ्कअनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम समुदायको जनसङ्ख्या प्रतिशतका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–१ संशोधन गर्न सिफारिस गरेको थियो।

यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–१ मा राष्ट्रिय जनगणना २०६८ का आधारमा समावेशी समूहको प्रतिशत उल्लेख गरिएको थियो। अब समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले राष्ट्रिय जनगणना २०७८ को जनसङ्ख्या अनुपातका आधारमा उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलहरूले यही पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्न सक्नेछन।