फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री
News Desk
Dec-20 , 2025 तारिख 06:37 बिहान

प्रधानमन्त्री कार्कीले सहिद घोषणा गरिएका व्यक्तिका परिवारको सम्मान, घाइते योद्धाको उपचार तथा दीर्घकालीन जीविकोपार्जन सुनिश्चित गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार राज्यले ती सबै विषयलाई प्राथमिकतामा राखेर आवश्यक काम अघि बढाइरहेको छ।

त्यसैगरी, आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मार्फत कार्य सुरु भइसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले विगतका पीडादायी क्षणलाई स्मरणमै सीमित राखी अब सबै मिलेर शान्त, सुन्दर र स्थिर भविष्य निर्माणतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

कतिपय नागरिकमा निर्वाचन र सरकारले शान्ति–सुरक्षा सुनिश्चित गर्न सक्छ कि सक्दैन भन्ने शंका रहेको प्रसङ्ग उठाउँदै प्रधानमन्त्री कार्कीले स्पष्ट शब्दमा भन्नुभयो,
“२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अब सामान्य कार्यक्रम मात्रै होइन, यो देशलाई स्थायित्व दिने र नयाँ युगको ढोका खोल्ने एकमात्र अपरिहार्य मार्ग हो। म सबैलाई विश्वस्त पार्न चाहन्छु—चुनाव सारिने वा रोकिने भन्ने हल्ला निराधार र भ्रमपूर्ण हुन। यो सरकार तोकिएको समयमै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न चट्टानझैँ अडिग छ।”

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई कसैको व्यक्तिगत जित वा हारको विषय नभई लोकतन्त्र, सुशासन र विधिको शासन सुदृढ गर्ने अभियानका रूपमा लिन आग्रह गर्नुभयो। उहाँका अनुसार भ्रष्टाचारमुक्त समाज र जिम्मेवार शासनतर्फ जाने वैधानिक बाटो नै निर्वाचन हो।

‘जेन–जी’ युवालाई लक्षित गर्दै प्रधानमन्त्री कार्कीले विशेष सन्देश दिँदै भन्नुभयो,
“तपाईंहरूको असन्तोष र सपना अब मतपत्रमार्फत व्यक्त गर्नुहोस। सडक आन्दोलनले प्रश्न उठाउँछ, तर समाधान मतपत्रले दिन्छ। तपाईंको प्रत्येक भोटको सुरक्षा राज्यले सुनिश्चित गर्छ।”

उहाँले करिब १०० दिनअघि देशको जटिल अवस्था बुझेर सबै राजनीतिक शक्ति र सरोकारवालालाई संयमता अपनाउन गरेको आग्रह स्मरण गर्दै, मन्त्रिपरिषद्, सुरक्षा निकाय, राष्ट्रसेवक र नागरिक समाजले असाधारण मेहनत गरेर परिस्थितिलाई सामान्य अवस्थामा फर्काएको बताउनुभयो।

“यसको परिणामस्वरूप मुलुकमा शान्ति स्थापना, स्थिति सामान्यीकरण र कानुनको शासन पुनःस्थापनामा सफलता मिलेको छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “सुरक्षा निकायको मनोबल तत्कालका लागि मात्र होइन, दीर्घकालीन रूपमा पनि बलियो बनाउने काम भइरहेको छ।”

प्रधानमन्त्री कार्कीले विगतमा शक्तिको आडमा दबाइएका अपराध र भ्रष्टाचारका प्रकरणमा अहिले अनुसन्धान निकायले पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ कारबाही अघि बढाएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार कानुनभन्दा माथि कोही छैन भन्ने मान्यता व्यवहारमै स्थापित हुँदै गएको छ।

“कुनै पद, हैसियत वा पहुँच नहेरी प्राप्त उजुरी र गुनासाका आधारमा अनुसन्धान भइरहेको छ,” उहाँले थप्नुभयो, “मिलेमतोमा ठेक्का हात पार्ने, विकास आयोजना अलपत्र पार्ने र राज्यको स्रोत दुरुपयोग गर्ने प्रवृत्तिको अन्त्य गर्न सरकार दृढतापूर्वक लागिपरेको छ।”

जेन–जी आन्दोलनको भावनालाई सम्बोधन गर्दै सरकारले सुशासन र निर्वाचनलाई नै प्रमुख लक्ष्य बनाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले राष्ट्रिय एकताको आह्वान गर्नुभयो। उहाँले भन्नुभयो,
“चुनावमा को जित्छ र को हार्छ भन्ने कुरा दोस्रो हो। लोकतन्त्र, राष्ट्रियता र स्थायित्वको जित नै सबैभन्दा ठूलो जित हो। अराजकताले कसैलाई सुख दिँदैन, शान्ति र स्थिरताले मात्र समृद्धिको ढोका खोल्छ। हामीले खोजेको परिवर्तन एकै दिनमा प्राप्त हुने होइन, यो लामो र निरन्तर यात्रा हो, जसका लागि धैर्य, पसिना र समय आवश्यक छ।”

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन लाई परिवर्तनको ढोका खोल्ने एक राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न आग्रह गर्नुभयो। राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातर्फ लैजान सकिने विश्वास व्यक्त गर्दै उहाँले यस निर्वाचनले नेपाली राजनीतिमा नयाँ, स्वच्छ र आशावादी युगको सुरुवात गर्ने धारणा राख्नुभयो।