News Desk
त्रिभुवन विश्वविद्यालयले अबदेखि दीक्षान्त समारोह प्रदेशगत रूपमा आयोजना गर्ने नीति अपनाउने भएको छ। विश्वविद्यालय प्रशासनले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीको संख्या निरन्तर बढ्दै गएपछि व्यवस्थापनमा कठिनाइ आउन थालेकाले यो निर्णय गरिएको जनाएको छ।
शुक्रबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपकुलपति दिपक अर्यालले आगामी वर्षदेखि राजधानी काठमाडौंसँगै पोखरामा पनि दीक्षान्त समारोह आयोजना गर्ने निर्णय भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार सहभागी संख्या अत्यधिक भएपछि एउटै स्थानमा दीक्षान्त समारोह व्यवस्थापन गर्न चुनौती बढेको हो।
यसअघि गत वर्ष नै संकायगत रूपमा दीक्षान्त समारोह गर्ने घोषणा गरिएको भए पनि आवश्यक अध्ययन, तयारी र संरचना नपुगेकाले त्यसलाई तत्काल कार्यान्वयन गर्न नसकिएको उपकुलपति अर्यालले स्पष्ट पार्नुभयो। यही कारणले आगामी वर्षदेखि प्रदेशगत ढाँचामा दीक्षान्त समारोह सञ्चालन गर्ने निर्णयमा विश्वविद्यालय पुगेको उहाँले बताउनुभयो।
यस वर्ष त्रिभुवन विश्वविद्यालयबाट स्नातकदेखि विद्यावारिधि तहसम्म उत्तीर्ण भएका ८९ हजार १ सय ९१ विद्यार्थीमध्ये आगामी पुस १० गते दशरथ रंगशालामा आयोजना हुने ५१औँ दीक्षान्त समारोहमा १६ हजार ३ सय ८० विद्यार्थी सहभागी हुनेछन। सो अवसरमा करिब ४२ हजार व्यक्तिको उपस्थिति रहने विश्वविद्यालयका रजिष्ट्रार केदारप्रसाद रिजालले जानकारी दिनुभयो।
समारोहका क्रममा २५ वटा दीक्षान्त पदक तथा पुरस्कार वितरण गरिनेछ। साथै कार्यक्रममा जापानका भौतिकशास्त्र तर्फका नोबेल पुरस्कार विजेता ताकाआकी काजिताले विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
उपकुलपति अर्यालले त्रिभुवन विश्वविद्यालय हाल अन्तर्राष्ट्रिय विश्वविद्यालय स्तरमापनमा करिब १३००औँ स्थान आसपास रहेको उल्लेख गर्दै आगामी दिनमा उच्च शिक्षामा देखिएका चुनौतीलाई सामना गर्दै गुणस्तरीय, अनुसन्धानमुखी र नवप्रवर्तनमा आधारित शिक्षा प्रणाली विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।