साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका दुई उपाध्यक्षमाथि अनुशासनात्मक कारबाही 
News Desk
Dec-21 , 2025 तारिख 11:34 बिहान

धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले छोटो अवधिमै आफ्ना दुई उपाध्यक्षमाथि अनुशासनात्मक कारबाही गरेको छ। पार्टी अध्यक्ष साम्पाङले चार दिनको अन्तरालमा दुई उपाध्यक्षलाई निलम्बनको निर्णय गरेका हुन।

प्रहरी हिरासतमा रहेका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेको तीन दिनपछि शनिबार अर्का उपाध्यक्ष डा। मित्र परियारमाथि पनि कारबाही गरिएको छ। अध्यक्ष साम्पाङले पुस ५ गते सामाजिक सञ्जालमार्फत पार्टीभित्र पदभन्दा आचारसंहिता महत्वपूर्ण हुने उल्लेख गर्दै परियारमाथि कारबाही गरिएको जानकारी दिएका हुन।

उनका अनुसार बुटवलमा आयोजित देशदौडाहा कार्यक्रमका क्रममा उपाध्यक्ष परियारले आयोजक तथा सह–संयोजकप्रति अपमानजन्य भाषा प्रयोग गरेका कारण पार्टीको आचारसंहिता उल्लंघन भएको ठहर गरिएको हो। “श्रम संस्कृतिमा कोही सानो–ठूलो हुँदैन,” भन्दै साम्पाङले नसच्चिएसम्म कारबाही कायम रहने स्पष्ट पारेका छन।

शनिबार रुपन्देहीको बुटवलमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा परियारले आयोजकको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए। उक्त सम्बोधनको भिडियो सार्वजनिक भएपछि पार्टीभित्र अनुशासनको विषय उठेको थियो।

यसअघि उपाध्यक्ष तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेपछि पार्टीले निलम्बन गरेको थियो। विस्फोटक पदार्थसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता मुद्दाका आधारमा उनलाई कपनबाट पक्राउ गरी पाँचथर पठाइएको हो। अनुसन्धानमा प्रभाव नपरोस भन्ने उद्देश्यले निलम्बन गरिएको अध्यक्ष साम्पाङको भनाइ थियो।

धनकुटाको पार्खिवास नगरपालिका–९ स्थायी ठेगाना भएका ५० वर्षीय तामाङ यसअघि पनि जेल सजाय भोगिसकेका व्यक्ति हुन।
उपाध्यक्ष परियारको हकमा भने कारबाहीको प्रकृति स्पष्ट नखुलाइए पनि ‘नसच्चिएसम्म कारबाही’ भनिएकाले उनलाई पनि निलम्बन गरिएको बुझ्न सकिन्छ।