News Desk
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्नुभएको छ।
कारागारबाट मुक्त भएपछि चितवन हुँदै आज काठमाडौँ आइपुग्नुभएका सभापति लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग छलफल गर्नुभएको हो। उहाँ साँझ करिब साढे सात बजे बालुवाटार पुग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ।
यसअघि आजै रास्वपा सभापति लामिछानेले संसद् पुनर्स्थापनासम्बन्धी गतिविधि रोक्न आग्रह गर्नुभएको थियो। पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संसद् पुनर्स्थापनाका लागि भइरहेको दौडधुपबारे सुनेको उल्लेख गर्दै त्यसप्रकारका षड्यन्त्र तत्काल बन्द हुनुपर्ने धारणा राख्नुभयो।
उहाँले जेन–जी पुस्ताको योगदानलाई सार्थक बनाउने दिशामा सबै लाग्नुपर्ने आवश्यकता औँल्याउँदै सिंहदरबार मात्रै बनाएर देश नबन्ने, व्यवस्था र सोच दुवै बदल्न आवश्यक रहेको बताउनुभयो।
सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका सभापति लामिछाने उच्च अदालतको आदेशअनुसार धरौटी रकम जिल्ला अदालत रुपन्देहीमा बुझाएपछि शुक्रबार कारागारबाट रिहा हुनुभएको हो।