News Desk
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान नदिने अडान पुनः दोहोर्याएका छन्। बरु आफू गोली खान तयार भए पनि आयोगमा उपस्थित नहुने उनको भनाइ छ।
हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित ओलीले आइतबार राति हिमालय टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा पत्रकार निमेष बन्जाडेलाई दिएको अन्तर्वार्तामा कुनै पनि हालतमा आयोगमा बयान दिन नजाने स्पष्ट पारेका हुन्।
अन्तर्वार्ताका क्रममा ओलीले व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिँदै बयान नदिने अडान राखे। उनले जाँचबुझ आयोगको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै कडा शब्द प्रयोग गरेका छन्। साथै, उनले अहिलेसम्म आयोगबाट बयानका लागि न त लिखित न त मौखिक रूपमा कुनै सूचना प्राप्त भएको दाबी गरे।
“त्यस्तो कुनै पत्र आएको छैन,” ओलीले भने, “मौखिक रूपमा पनि केही जानकारी आएको छैन।”
यसै क्रममा एमाले अध्यक्ष ओलीले आवश्यक परे आफू सरकारसँग अनुमति नलिई काठमाडौँ उपत्यकाबाहिर जाने बताएका छन्। उनले संविधानले दिएको अधिकार प्रयोग गर्न असंवैधानिक सरकारसँग अनुमति माग्नुपर्ने कुनै कारण नभएको दाबी गरे।
“मलाई बाहिर जानुपर्यो भने म जान्छु, उपत्यकाबाहिर पनि जान्छु,” उनले भने, “मेरो संवैधानिक अधिकार प्रयोग गर्न सरकारसँग सोध्नुपर्छ भन्ने मलाई लाग्दैन।”
उल्लेखनीय छ, सरकारले ओलीलाई विदेश जान प्रतिबन्ध लगाएको छ भने काठमाडौँ उपत्यकाबाहिर जानु परे पनि पूर्वस्वीकृति लिनुपर्ने आदेश जारी गरेको छ।