News Desk
सिन्धुली | कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आइतबार भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार स्थानीय ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्साकोठामा आगलागी हुँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै ज्यान गएको हो। आगो निभाउने क्रममा ससुरा दुर्गामान बम्जन पनि घाइते भएका छन्।
प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार दुर्गामान बम्जनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको छ। उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। दिउँसो खाजा खाने समयमा भान्सामा आगो लागेको देखेपछि बुहारीलाई बचाउन प्रयास गर्दा ससुरा समेत आगोको चपेटामा परेका थिए।
घटनाका बेला घरमा मृतक सुशीला, उनका सासू, ससुरा र नन्द उपस्थित रहेको प्रहरीले जनाएको छ। मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् भने उनका दुई छोरा र एक छोरी छन्।
प्रहरीले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।