News Desk
काठमाडौँ । बालमैत्री शासनयुक्त स्थानीय तहको कार्यान्वयनमा अर्थपूर्ण बाल सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सोमबार काठमाडौँको नयाँ बानेश्वरमा एकदिने कार्यशाला सम्पन्न भएको छ। समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस), बुद्धनगर काठमाडौँको आयोजनामा पौष ७ मा उक्त कार्यशाला सञ्चालनमा आएको हो।
कार्यक्रम सिविसका परियोजना संयोजक उमङ्ग मैनालीले सञ्चालन गरेका थिए भने सिविसकी अध्यक्ष बिमला ज्ञवालीले अध्यक्षता गरेकी थीन। जसमा महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जन विशिष्ट अतिथि रहेकी थिईन् भने अतिथिका रूपमा नेपाल नगरपालिका संघका अधिकृत ज्योति शर्मा र गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अधिकृत रूपनारायण ढकाल सहभागी थिए।
कार्यक्रममा बोल्दै सिविसकी अध्यक्ष बिमला ज्ञवालीले बाल सहभागिता केवल औपचारिकतामा सीमित नभई निर्णय प्रक्रियासम्म पुग्नुपर्नेमा जोड दिईन्। “बालमैत्री शासन भन्नु बालबालिकाको आवाज नीतिमा समेटिनु हो, उनीहरूलाई सुन्ने र निर्णयमा सहभागी गराउने संस्कार विकास गर्न आवश्यक छ,” उनले भनिन।
विशिष्ट अतिथि उपमेयर लक्ष्मी महर्जनले स्थानीय तहले बाल अधिकारलाई प्राथमिकतामा राखेर कार्यक्रम र नीति निर्माण गर्नुपर्ने बताइन। “बालबालिकाको सहभागिताले स्थानीय शासनलाई अझ समावेशी र उत्तरदायी बनाउँछ,” उनको भनाइ थियो।
कार्यक्रममा सिविसकी टिम लिडर रुजा पोखरेलले काठमाडौँमा घरलु श्रमिकको रूपमा जीवन बिताइरहेका बालबालिकासम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गरेकी थिईन्।
कार्यक्रममा अधिकारकर्मी तथा टिम लिडर संजोग ठकुरीलेबालमैत्री शासनयुक्त स्थानीय तह कार्यान्वयनमा अर्थपूर्ण बाल सहभागीता सुनिश्चितताको लागि स्थानीय सरकारले गर्नुपर्ने कार्यहरुको विषयमा प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतिकरणका क्रममा अधिकारकर्मी ठकुरीले बाल सहभागितालाई दीगो बनाउन स्थानीय सरकार, विद्यालय, समुदाय र अभिभावकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।
सो अवसरमा बालमैत्री शासनयुक्त स्थानीय तह कार्यान्वयनमा स्थानीय सरकारले गर्नुपर्ने कार्यबारे विस्तृत छलफल समेत गरिएको थियो। छलफलमा बालमैत्री स्थानीय शासनका सूचकहरूमा बालबालिकाको अर्थपूर्ण सहभागिता कसरी सुनिश्चित गर्ने, बोली र व्यवहारदेखि नीतिसम्म बाल सहभागितालाई संस्थागत गर्ने तथा यसको दीगोपनाका लागि स्थानीय सरकारको थप जिम्मेवारीबारे विचार विमर्श भएको थियो ।
कार्यशालामा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तथा नेपाल नगरपालिका संघका पदाधिकारी र कर्मचारीहरु, नगरपालिकाका उपप्रमुख, वडा अध्यक्षहरु, वडाको बाल अधिकार समितिका संयोजक, बाल कल्याण अधिकारी, वडा सचिवहरु, विद्यालयका प्रधानाध्यापकहरु, बाल संजाल अध्यक्ष, बाल सल्लाहकार समितिका पदाधिकारीहरु, संचारकर्मी लगायत आयोजक संस्थाहरुका पदाधिकारी तथा कर्मचारीहरुको सहभागीता रहेको थियो।