पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार उपचारपछि स्वदेश फिर्ता
News Desk
Dec-23 , 2025 तारिख 12:13 बेलुका

जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार उपचारपछि स्वदेश फर्किएकी छन्। करिब तीन महिना भारतमा उपचार गराएर स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी आज नेपाल फर्किएको पारिवारिक स्रोतले जनाएको छ।

चित्रकारको भारतस्थित एपोलो अस्पतालमा उपचार गरिएको थियो। भदौ २४ गते जेनजी आन्दोलनकारीले उनको घरमा आगजनी गर्दा उनी घरभित्रै जलेर गम्भीर घाइते भएकी थिइन्। घटनापछि उनलाई तत्काल कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो।

बर्न अस्पतालको आईसीयूमा लामो समय उपचारका क्रममा उनको देब्रे हात काट्नुपरेको थियो। प्रारम्भिक उपचारपछि स्वास्थ्यमा केही सुधार देखिए पनि उपचारकै क्रममा उनलाई निमोनियाको संक्रमण देखापरेको थियो।

संक्रमण बढ्दै गएपछि थप उपचारका लागि असोज ७ गते उनलाई भारत लगिएको थियो। चिकित्सकका अनुसार ७० वर्षीया चित्रकारको शरीरको करिब १७ प्रतिशत भाग जलेको थियो। हाल स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि उनी स्वदेश फर्किएकी हुन्।