हुस्सु र शीतलहरले चिसो तीव्र बनेपछि विद्यालय बन्द
News Desk
Dec-23 , 2025 तारिख 05:56 बेलुका

तराईका विभिन्न जिल्लामा लगातारको हुस्सु र शीतलहरले चिसो तीव्र बनेपछि स्थानीय तहहरूले विद्यालय बन्द गर्न थालेका छन्।

पछिल्ला चार दिनदेखि चिसो बढ्दै जाँदा विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै पर्साका वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले जाडो बिदा घोषणा गरेका हुन्।

वीरगञ्ज महानगरपालिकाले सोमबारदेखि बुधबारसम्म तीन दिनका लागि सामुदायिक र संस्थागत सबै विद्यालयको पठन–पाठन स्थगित गरेको छ। पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले पनि भोलिसम्म विद्यालयमा बिदा दिएका छन्।

यस्तै, बाराको परवानीपुर गाउँपालिकाले पुस ११ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने सिम्रौनगढ नगरपालिकाले पनि भोलिसम्मका लागि बिदा दिएको छ। रौतहटको गौर नगरपालिकाले आजदेखि शुक्रबारसम्म सार्वजनिक बिदा घोषणा गरेको छ।

महोत्तरी जिल्लाको भंगहा र रामगोपालपुर नगरपालिकाले समेत चिसोको प्रभावलाई ध्यानमा राख्दै छ दिनसम्म विद्यालय बन्द गराएका छन्।

केही दिनयता तराईका जिल्लामा निरन्तर शीतलहर चलिरहेकाले न्यूनतम तापक्रम १३ देखि १४ डिग्री सेल्सियस आसपासमै सीमित रहेको छ। बढ्दो चिसोका कारण स्थानीय जनजीवन प्रभावित बनेको छ भने विशेष गरी बालबालिका र वृद्धवृद्धा बढी जोखिममा परेका छन्।