News Desk
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज आयोजना हुँदैछ। विश्वविद्यालयको इतिहासमै पहिलो पटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्दै दीक्षान्त समारोह गर्न लागिएको उपकुलपति प्रा। डा। दीपक अर्यालले जानकारी दिनुभयो।
यसपटकको दीक्षान्त समारोहमा जापानी भौतिकशास्त्री तथा नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। टोकियो विश्वविद्यालयसँग आबद्ध उहाँले सन २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गर्नुभएको थियो।
उपकुलपति प्रा। डा। अर्यालका अनुसार दीक्षान्त समारोहका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ। मण्डप निर्माणदेखि दीक्षित विद्यार्थी तथा अभिभावक बस्ने कुर्सीको व्यवस्थापनसम्मका सबै काम सम्पन्न भएको उहाँले बताउनुभयो।
यस वर्ष त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने छन। दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार जना सहभागी हुने अनुमान गरिएको छ। विश्वविद्यालयका विभिन्न तहमा गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्, जसमध्ये १६ हजार ३८० विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका उपकुलपतिले जानकारी दिनुभयो।
समारोहका क्रममा विभिन्न सङ्काय र तहमा उत्कृष्ट नतिजा ल्याउने ११ जना छात्रा र १४ जना छात्रलाई पदक प्रदान गरिनेछ। यसपटक त्रिविबाट मानविकी संकायका १४ हजार ८५१, व्यवस्थापनका ४३ हजार ६१०, कानुनका २ हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ विद्यार्थी उत्तीर्ण भएका छन।