कर्जन्हामा किशोरी हत्या : तीन सातासम्म पनि अभियुक्त पहिचान हुन सकेन
News Desk
Dec-25 , 2025 तारिख 07:09 बिहान

सिरहा – सिरहाको कर्जन्हा नगरपालिकामा एक किशोरीको हत्या भएको तीन साता बितिसक्दा पनि घटनामा संलग्न दोषी अझै पहिचान हुन सकेको छैन। प्रहरी अनुसन्धान निष्कर्षमा नपुग्दा पीडित परिवार र स्थानीयवासीमा असन्तोष र आक्रोश बढ्दै गएको छ।

कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको शव गत मङ्सिर २२ गते कर्जन्हा नगरपालिका–२ स्थित बन्दीपुरमा रहेको नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा फेला परेको थियो। घटनापछि लामो समय बितिसक्दा पनि मुख्य अभियुक्त सार्वजनिक नहुनु पीडित परिवारका लागि थप पीडादायी बनेको छ।

मृतककी आमा दयावती दनुवारले छोरीको हत्यापछि न्याय नपाएको अनुभूति भइरहेको बताइन। उनले भनिन्, “छोरी गुमाएको पीडा सहनै गाह्रो छ, त्यसमा पनि दोषी पत्ता नलाग्दा हामीमाथि थप अन्याय भइरहेको छ। पहुँच भएकाको कुरा चाँडै सुनिन्छ, हामीजस्ता पीडितको आवाज बेवास्ता हुन्छ।”

स्थानीयवासीका अनुसार किशोरीको शव अर्धनग्न अवस्थामा भेटिएकाले घटनामा गम्भीर आपराधिक आशंका गरिएको छ। यस विषयमा कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले प्रहरी अनुसन्धानप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन माग गर्नुभयो। उहाँले तीन साता बितिसक्दा पनि अभियुक्त पत्ता नलाग्नु गम्भीर विषय भएको बताउनुभयो।

यता जिल्ला प्रहरी कार्यालय सिरहाले भने घटनाको अनुसन्धान जारी रहेको जनाएको छ। प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रमेशबहादुर पालका अनुसार घटनाको संवेदनशीलतालाई ध्यानमा राखी विभिन्न कोणबाट गहिरो अनुसन्धान भइरहेको छ। “प्रमाण र तथ्यका आधारमा मुख्य अभियुक्तसम्म पुग्ने प्रयास जारी छ,” उहाँले बताउनुभयो।